बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्याहरूद्वारा सर सफाई
बिजनबारी: आज पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरुले यस क्षेत्रको जीवन रेखा मानिने मूल सडकको सर सफाई गर्ने कार्य गरेका छन्। घुम भञ्ज्याङदेखि यसो पुल बिजनबारी क्षेत्रको मूल सडकको अवस्था अत्यन्त सोचनीय बन्दै गई रहेको छ। यही अवस्थालाई ध्यानमा राख्दै पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसन तथा पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरुले मुल सडकको सर सफाई, खाल्टोहरु पुर्ने काम र नालाहरु खोल्ने कार्य गरेका छन्।

यस दिन तीसजना सदस्यहरु यस कार्यमा सामेल रहेका थिए। एसोसिएसनका सभापति विजय तामाङले सडकको अवस्था अत्यन्त सोचनीय भएकोले सर सफाई गर्ने कार्य गरेको बताए। यसका साथै सडक निर्माणको कार्य गुण स्तरमा हुनु पर्ने उनले जनाए। यसरी नै उप सभापति सुभाष प्रधानले यो सडक असल हुनुपर्ने जनाउँदै यो सडक पुल बिजनबारी लगायत विभिन्न कमान र बस्ती क्षेत्रको वासिन्दाहरूको निम्ति एउटा जीवन रेखा मानिने भएकोले अत्यन्त महत्त्वपूर्ण सडक हो भनी बताए। आज सडकको अवस्था यस्तो दयनीय हुँदा पनि विभागीय अधिकारी, कर्मचारी र जीटीए कतातिर छ भनी उनले प्रश्न गरे। कहिले कुनै समय सडकको अवस्था राम्रो नभएको बताउँदै चालक दाजु भाईहरु नै सँधै असुविधाको जाँतोमा पिसिन्दै आईरहेको प्रधानले अवगत गराए।

यसैगरी पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका अर्का सदस्य शुक्र तामाङले पनि गुनासो गर्दै यो सडक कमान बस्ती भेकमा खटी खाने श्रमिक र कृषक दाजु भाईहरुको निम्ति अत्यन्त महत्त्वपूर्ण सडक रहेको बताए। अहिले पुल बिजनबारी क्षेत्रमा धेरै बेरोजगार दाजु भाईहरुले होम स्टे चलाएर आफ्नो अनि परिवारको जीविका चलाउने कार्य गरिरहेका छन् र यस सडकको जीर्ण अवस्थाले उनीहरूको होम स्टेमा पनि प्रभाव पार्ने उनले जनाए। सो यस सडक राम्रो भए सबैलाई सुविधा र धेरै फाइदा पुग्ने तामाङले बताए।