गान्तोकः राज्य सरकारले न्यू एसटीएनएम सुपर स्पेश्यालिटी अस्पतालमा थप चिकित्ला पूर्वाधार र स्वास्थ्य सुविधाहरू उपलब्ध गराएर एक आदर्श स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यलाई अघि बड़ाउँदै फेरि केही महत्वपूर्ण पूर्वाधारहरू जड़ान गरेको छ। आज मुख्यमन्त्री प्रेम सिहं तामाङले सिच्छेको सोचाकगाङस्थित एसटीएनएम अस्पतालमा बाल चिकित्सा उत्कृष्टता केन्द्र, मेडिकल आइसीयू र टेलीकन्सलटेशन केन्द्रको विधिवत उद्घाटन गरे। यी थप सुविधाहरूले मध्ये टेलीकन्सलटेशन केन्द्र विशेष रहेको छ। यस व्यवस्था मार्फत राज्यका गाउँ-घरहरूबाट बिमारीले टेलीफोन एवं भिडियो कन्फरेन्स मार्फत एसटीएनएम अस्पतालका विशेषज्ञ चिकित्सहरूबाट विभिन्न रोग सम्बन्धी परामर्श लिनुको साथै अन्य जानकारीहरू पनि लिन सक्नेछन्।
यसरी नै नितान्त आवश्यक्ता महसुस गरिएको विभिन्न सुविधासम्पन्न बाल चिकित्सा उत्कृष्टता केन्द्र र मेडिसिन आइसीयु-ले पनि अस्पतालको स्वास्थ्य सेवालाई अझ उत्कृष्टता प्रदान गर्ने आशा व्यक्त गरिएको छ। आज नै मुख्यमन्त्री श्री तामाङको विशेष उपस्थितिमा अस्पताल परिसरमा साङ्गे मेनला अर्थात मेडिसिन बुद्धको प्रतिमाको पनि विधिवत उद्घाटन गरियो।

यसरी विभिन्न पूर्वाधारको उद्घाटन कार्यक्रम पछि अस्पतालमा राज्य स्वास्थ्य अभियानको एउटा सभा पनि आयोजना गरिएको थियो जसमा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थिति जनाएका थिए। यस अवसरमा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीहरूलाई राज्य सरकार तथा स्वास्थ्य विभागद्वारा कायाकल्प पुरस्कार साथै अन्य पुरस्कारहरू प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्य सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा बितेका तीन वर्षमा कोरोना महामारीको प्रतिकूल परिस्थितिबीच पनि उल्लेखनीय कार्य गरेको बताए। तीन वर्षमा राज्य बाहिरबाट बिमारीहरू उपचारको निम्ति सिक्किम आउने अवस्थाले राज्यको स्वास्थ्य सुविधा राम्रो भएको छ भनेर ठोकुवा गरी भन्न सकिने उनले थप बताए। यसको श्रेय स्वास्थ्य विभाग र विभागका साना-ठूला सबै कर्मचारीलाई जान्छ भन्दै राज्यवासीको पक्षमा सबैलाई धन्यवाद पनि दिए। मुख्यमन्त्रीले स्वास्थ्यकर्मीहरूलाई असल कामको निम्ति पीठ्यू थपथपाउनुको साथै अझ धेरै काम गर्न प्रोत्साहित पनि गरे।
कार्यक्रमलाई स्वास्थ्य मन्त्री डा. एमके शर्माले पनि सम्बोधन गरे। उनले आफ्नो सम्बोधनमा अहिले आएर राज्यमा एम्बुलेस्न सुल्टा कुद्न थालेको अर्थात राज्य बाहिरबाट मानिसहरू उपचारको निम्ति सिक्किम आउन थालेको बताए।