खरसाङ: खरसाङ-गिध्द पहाड़ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको पक्षमा चुनाव प्रचार कार्यलाई तेज गरिएको छ। यसै क्रममा मङ्गलबार २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा समष्टी सचिव भक्तिमान तामाङको विशेष उपस्थिति र गिध्द पहाड़को चुनाव को-अर्डिनेटर रुबेन छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा खरसाङ गिध्द पहाड़ समष्टिका विभिन्न शाखा प्रशाखाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए भने सभामा जीटीए चुनावको लागि चुनाव को-अर्डिनेशन कमिटी गठन विषयमा छलफल गरिएको छ। सभामा आगामी जीटीए चुनावको लागि आफ्नो आफ्नो क्षेत्रमा चुनाव कमिटी गठन गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले समष्टीको गिध्द पहाड़मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सम्पन्न भएको बताउँदै समष्टीको प्रत्येक गाउँहरू वा बुथहरूमा चुनाव को-अर्डिनेशन कमिटी गठन गरेर कार्य गरिने बताएका छन्।