सिलगढी: सिलगढीमा भुस्याहा कुकुरलाई मारेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा गणेश पाल, मनोज राय र रिपन पाल रहेका छन्। घटनाका मुख्य अभियुक्त गणेश पाल हुन्। पशु प्रेमी संगठनले दोषीलाई कडा सजायको माग गर्दै सिलगढी अदालत अगाडि विरोध प्रदर्शन र नाराबाजी गरेका छन्। सिलगढीको वार्ड नम्बर ११ को खुदिरामपल्ली इलाकामा शनिबार एक भुस्याहा कुकुरलाई कुटेर मारिएको थियो। घटना लगत्तै इलाक़ामा सनसनी फैलिएको थियो। खबर पाए लगत्तै नगरको पशु प्रेमी सङ्गठनका सदस्यहरूले आइतबार हाश्मी चोकमा धर्ना दिएका थिए। पशु प्रेमी संगठनका सदस्यहरूले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। सोमबार पनि सिलगढी अदालत अगाडि प्रदर्शन गरिएको थियो। शनिबार भएको घटनापछि पुलिस चौकीमा लिखित उजुरी परेको प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानपछि पहिले लागुऔषध पसलका दुइजना पक्राउ परेका थिए। उनलाई सोधपुछ गरेपछि गणेश पालको नाम अगाडि आयो। पुलिसले गणेश पाललाई गएराति मध्य हटियाडांगा क्षेत्रबाट पक्राउ गरेको हो। यसपछि सम्पूर्ण घटनाको छानबिन भयो। पुलिसले औषधि पसलका दुई कर्मचारी मनोज राय ,रिपन पाल र मुख्य अभियुक्त गणेश पाललाई पक्राउ गरेको छ।