गान्तोक। सिक्किम नागरिक समाजले केही दिनदेखि केवल सामाजिक सञ्जालहरूमा मात्र उठाइरहेको मुद्दा निराधार रहेको दावी गर्दै यदि यसमा एक प्रतिशत पनि सत्यता भए आदलतसमक्ष जाने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले उल्टै नागरिक समाजलाई चुनौती दिए। नागरिक समाजले क्यागको प्रपोज्ड ड्राफ्टलाई आधार बनाएर सरकारलाई बदनाम गर्ने प्रयास गरिरहेको बताउँदै उनले सिक्किमेली समाजलाई दिगभ्रमित नगर्ने आग्रह पनि गरे। सिक्किम सरकारको मुख्य सचिवले जम्मा ३४ करोड़ ४४ लाख रुपियाँ घोटाला गरेको भन्दै नागरिक समाजले केही दिनदेखि सामाजिक सञ्जालहरूमा कुरा उठाइरहेको साथै यसमा मुख्य सचिवले राज्य सरकारसमक्ष दिएको जानकारीलाई पनि ब्याक डेटेड भन्ने कुराको खण्डन गर्दै आज मुख्यमन्त्री राजनीतिक सचिव जेकब खालिङ अनि मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले राजधानीको सचिवालयमा एउटा प्रेस वार्ता गरेर उनीहरूले उठाएको सम्पूर्ण कुराहरू निराधार रहेको प्रमाणिकरणहरू पेश गरे।
प्रेसलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले कुनै पनि उच्च अधिकारीले आफ्नो चल- अचल सम्पति बेच बिखान गर्नु तिनीहरूको अधिकारको विषय रहेको साथै मुख्य सचिवले आफुले बिक्री गरेको सम्पतीबारे समयमा नै राज्य सरकारलाई अवगत गराएको बताए। राज्य सरकारलाई जानकारी गराएको पत्र पनि ब्याक डेटेड रहेको भन्ने कुरा नागरिक समाजले गरेपछि यो मामिलामा जब्बरजस्ती सरकारलाई संलग्न गराएर सरकारको बदनाम गराउन चाहेको उनले थप बताए। सिक्किम नागरिक समाजलाई यदि यो साँच्चै ब्याक डेटेड हो भन्ने लाग्छ भने यो कुरा आदलतसमक्ष लैजाने पनि खालिङले चुनौती दिए।
सिक्किम नागरिक समाजले बारम्बार क्यागको रिपोर्ट भन्दै जनता समक्ष राखिरहेको दस्तावेज क्यागको रिपोर्ट नभएर यसको प्रस्तावित ड्राफ्ट मात्र रहेको खालिङले खुलासा गरे। उक्त प्रपोस्ट ड्राफ्टमा कतै पनि ३८ करोड़ ४४ लाख रुपियाँको उल्लेख नभएको उनले प्रमाण पेश गरे। यसरी सिक्किम नागरिक समाजले मनगढ़न्ते कहानी बनाएर सिक्किमे जनतालाई हुस्सु बनाउने अनि सरकारलाई बदनाम गर्ने काम गरिरहेको उनले बताए।
राज्य सरकारले कोरोना महामारीको भयावह स्थितिमा १,३२,३५० घरहरूलाई राहत सामग्री उपलब्ध गराएको खालिङले बताए। यी जम्मै राहत सामग्रीहरू सरकारले एमआरपी भन्दा माथिको दाममा नकिनेको अनि सर्ट नोटिस टेण्डरको माध्यमनै किनेको उनले बताए। केन्द्रको दिशानिर्देश अनुसार एसडीएरएफको ३५ प्रतिशत अनुसारनै राज्य सरकारले यी राहत सामग्रीहरू किनेर जनतालाई उपलब्ध गराएको उनले स्पष्ट पारे। डिजास्टर म्यानेदमेन्ट एक्ट २००५ को सेक्शन ५० अनुसार आपतकालको स्थितिमा कुनै टेण्डर बिनानै राहत किन्नसक्ने प्रावधान रहेपनि राज्य सरकारले कोविडको समयमा राहत सामग्री किन्दा सर्ट नेटिस टेण्ड गरेको उनले बताए।
वर्ष २०११ देखि २०१४ सम्मको कार्यकालमा घोटालामा लिप्त रहेको व्यक्तिलाई सरकरले किन मुख्य सचिवको पदभार दिएर राख्यो भन्ने नागरिक समाजको प्रश्नलाई पनि उत्तर दिँदै खालिङले त्यो उनीमाथि लागेको आरोप मात्र रहेको बताउँदै यदि यसको जाँच प्रतिवेदन सिक्किम नागरिक समाजले सरकारसमक्ष बुझाए आवश्य राज्य सरकारले संज्ञान लिने पनि उनले बताए।
प्रेसलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले सिक्किम नागरिक समाज फोरफीट व्यक्तिहरूको समुह रहेको बताए। नागरिक समाजले आफ्नो समुह राजनीतिक अथवा अराजनीतिक रहेको स्पष्ट पार्नुपर्ने पनि उनले बताए। उनले विभिन्न नागरिक समाजहरूले समाजको निम्ति गरेको कार्यहरूको उदाहरण दिँदै सिक्किम नागरिक समाजले पनि विचलनबाट माथि उठेर कार्य गर्ने आग्रह गरे। सिक्किम नागरिक समाज हारेको जुवाड़ेको अखड़ा जस्तो मात्र नहोस् भन्दै कड़ा शब्दमा उनले सुझाव पनि दिए।