कालचिनीः डुवर्सका चियाकमानको सेक्सनहरूमा अचेल चितुवाको रगरगी बढ़्न थालेको घटना नौलो कुरा होईन।
जंगलबाट चियाकमानको सेक्सनको नाला र बाक्लो मेलामा चितुवाको रगरगी बढ़ेकोले प्रायः दिनहुँ चितुवाको आक्रमणमा श्रमिकहरू घाईते हुँदै आईरहेको छ। यसै क्रममा सोमबार अपराह्न समय आफ्नो मेलापातमा पत्ती टिप्दै गईरहएकी कालचिनी खण्ड अन्तर्गत पर्ने भातखावा चियाबारीको एकजना बीघा महिला श्रमिक तेजनी साहु उमेर ५४ माथि अचानक कमानको नालाबाट निस्किएको एउटा चितुवाले आक्रमण गरेर गम्भीर घाईते भएकी छन्।
कमानको सेक्सनमा यसरी चितुवाले घाईते बनाएकी महिला श्रमिकलाई सहकर्मी श्रमिकहरूले उद्धार गरेर प्रथमत कमानको अस्पतालमा पुऱ्याएको थियो भने त्यहाँबाट तिनलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याईएपछि उपचार चलेको थियो।
घाईते महिला श्रमिकले आफू एकधुनमा पत्ती टिप्दै जाँदा अचानक चितुवा आफ्नो शरीरमाथि हामफालेको बताएकी छन्।
उपरोक्त घटना सम्बन्धमा घाइते महिला श्रमिककी छोरी सुमन्ती साहुले चियाकमानमा लगातार यसरी चितुवाको आक्रमणमा श्रमिकहरू घाइते भइरहेको घटनालाई कमान प्रबन्धनपक्ष र बन विभागले गम्भीरताको साथ नहेरेको आरोप लगाएकी छन्।
कमानको मेलापातमा काम गर्ने श्रमिकहरूलाई कुनै सुरक्षाको व्यवस्था कमान प्रबन्धनपक्षले नगरेको र बन विभागले केवल औपचारिकता पालन गरीरहेको अनि श्रमिकहरू चैँ बिना कुनै सुरक्षा आफ्नो जोखिम उठाएर पत्ती टिप्न बाध्य भइरहेकोले कमानमा पस्न पनि महिला श्रमिकहरू त्रसित हुन थालेको घाईते महिला तेजनी साहुकी छोरी सुमन्ती साहुले बताएकी छन्।
यता लगातार चितुवाको आक्रमणले कमानमा पत्ती टिप्न असुविधा भईरहेको तर कसैले यसलाई गम्भीरताको साथ नलिएको भातखावा चियाबारीको महिला श्रमिकहरूले जनाएका छन्।