सोनादा: सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्री पितृ शोकमा परेका छन्। 89 वर्षीय उनका पिता रामबहादुर छेत्रीको गत २७ मार्च सोमबारको दिन सुकनास्थित निज वासस्थानमा निधन भएको थियो। टिस्टाभेल्ली क्षेत्रका एक वरिष्ठ नागरिक स्व रामबहादुर छेत्री टिस्टाभेल्ली क्षेत्रका एक विशिष्ट समाजसेवी हुनाका साथै एक शिक्षा अनुरागी एवम् संघर्षशील व्यक्ति थिए। असम राइफल्सका अर्धसैनिकको रूपमा धेरै वर्ष सेवा गरी १९८० कै दशकमा सेवा निवृत्त भई टिस्टा भेल्ली चियाबारीमा पनि सेवा गरेका गरेका थिए। सामाजिक क्षेत्रमा पनि उनको ठूलो योगदान थियो। टिस्टाभेल्ली चियाबारीस्थित बरपिपल गाँउ समाजको संस्थापक सचिव भएर समाजको उत्तरोतर प्रगतिमा उनले ठूलो योगदान दिएका थिए। धेरै वर्षदेखि आफ्नी पत्नीको मानसिक स्थिति ठीक नरहे तापनि स्व.छेत्रीले एकल प्रयासमा आफ्ना छोरा- छोरीहरूलाई उचित शिक्षा प्रदान गरेका थिए। उनको कान्छो सुपुत्र मेघनाथ छेत्रीलाई उच्च शिक्षा प्रदान गरी सोनादा डिग्री कलेजको प्राध्यापक जस्तो पदमा पुर्याउन सक्षम थिए। स्व.छेत्री बितेका पाँच वर्षदेखि अस्वास्थ्यताको कारणले उपचार हेतु आफ्ना कान्छो सुपुत्र मेघनाथ छेत्रीसित सुकनामा बस्दै आईरहेका थिए। ह्रदयघातको कारणले गत २७ मार्चको दिन सुकनास्थित निज बास स्थानमा नै उनको निधन भयो। उनको निधनले टिस्टाभेल्लीदेखि सुकनासम्मै शोकको लहर छाएको छ। अध्यात्ममा पनि आस्था राख्ने स्व.रामबहादुर छेत्रीको निधनमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा अदिना बाईजी, महात्मा अक्षरानन्दजी, विभिन्न तहसील प्रभारी सन्त महात्मा बाईजीहरू, मूल सचिव प्रकाश हाङखिम, प्रान्तपाल भीमप्रकाश राईले मानव उत्थान सेवा समितिको पक्षमा लगायत खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समिति,विभिन्न आञ्चलिक र शाखा समितिहरू र टिस्टाभेल्ली बर पिपल गाँउ समाज आदिको तर्फबाट श्रद्धाञ्जलिसहित शोक समवेदना प्रकट गरेका छन्। आफू पछि धर्मपत्नी, दुइ छोरा- बुहारी एक छोरी- ज्वाई, नाति- नातिनीहरू एवम् शाखा सन्तानहरू छाडी गएका स्व.रामबहादुर छेत्रीको अन्त्त्येष्टि कार्य आगामी ८ अप्रेल शनिबारको दिन सुकना पार्ट टु स्थित सार्वजनिक भवनमा सम्पन्न हुने पारिवारिक सुत्रले जानकारी प्राप्त भएको छ।