दार्जीलिङ: दार्जीलिङ बिधानसभा क्षेत्रका विधायक निरज जिम्बाले बाल गृहलाई आर्थिक सहयोग प्रदान गर्दै ५१ हजार रुपियाँको चेक हस्तान्तरण गरेका छन्। छिमेकी राज्य सिक्किम नाम्चीबाट दार्जीलिङ घुम्न आएका मायाल ल्याङ्ग बाल गृहका बालबालिका साथै बाल गृहका संचालक अनि शिक्षकहरुसँग हिजो विधायक निरज जिम्बा अनि उनको टोलीले राज्यपाललाई भेटघाट गर्न आउने समयमा उनीहरुलाई राजभवन परिसरमा भेटघाट गरेका थिए। यसैक्रममा विधायक जिम्बाले बाल गृहका संचालकसँग जानकारी लिँदै बालबालिकाहरुसँग पनि समय बिताएका थिए। बाल गृह संचालन गर्नु भनेको महान कार्य हो, यो भन्दा ठूलो कार्य अरु हुन सक्दैन। यसैकारण सेवा एवं सहयोग गर्दा आफ्नो क्षेत्र या अन्य क्षेत्र छुट्टाउनु हुँदैन। मेरो यो थोरै सहयोगले पनि बालबालिकाहरुलाई केही मदत हुन्छ। बालबालिका भनेको भविष्यका कर्णधार हुन्, उनीहरुलाई प्रोत्साहन दिनु तपाईं हामी सबैको कर्तव्य हो, सबैले निस्वार्थ भावनाले आफ्नो क्षमता अनुसार सहयोग पुर्याउनु पर्छ। म बाल गृहका संचालक साथै सम्पूर्ण शिक्षकहरु प्रति आभारी छु, वहाँहरुले गर्नुभएको यो पुण्यको कार्य हो भनी विधायक निरज जिम्बाले आफ्नो विज्ञप्तिमा जाहेर गरेका छन्। यसैक्रममा बाल गृहका संचालकद्वारा विधायक निरज जिम्बाप्रति आर्थिक सहयोग प्रदान गरेकोमा बाल गृहको तर्फबाट आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।