३ अप्रेलः स्पेनिश ला लीगा फूटबलमा दुवै म्याड्रिडले विपरीत परिस्थितिमा आ-आफ्नो म्याच जित्यो। गत सीजनको च्याम्पियन रियल म्याड्रिडले भाल्लाडोलिड विरुद्ध ६-०-ले एकतर्फी जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले पहिलो हाफमै ४ गोल गरी विपक्षी टीमको हार सुनिश्चित गऱ्यो। यसमा स्टार स्ट्राईकर करीम बेञ्जेमाको ह्याट्रिक सामेल छ। फ्रान्सीसी फरवर्ड बेञ्जेमाले २९औं, ३२औं र ३६औं मिनटमा गोल गरे। यसबाहेक रोड्रिगोले २२औं, मार्को असेन्सिओले ७३औं र लुकास भाजक्वेजले स्टपेज टाइमको पहिलो मिनटमा गोल गरे। यस जीतपछि रियल म्याड्रिड २७ वटा म्याचमा ५९ पोइण्टको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी नै १६औं स्थानमा रहने भाल्लाडोलिडसँग २८ पोइण्ट रहेको छ।
रियल म्याड्रिडको विपरीत एट्लेटिको म्याड्रिडले चाहिँ रियल बेटिस विरुद्ध १-०-ले जीत हासिल गर्न निक्कै मेहनत गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड सिभिटास मेट्रोपोलिटानो स्टेडियममा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोले म्याचको एकमात्र गोलको निम्ति पनि अन्तिम समयसम्म प्रतीक्षा गर्नु पऱ्यो। विजेता टीमबाट एकमात्र गोल अनुभवी एञ्जेल कोरेआले ८६औं मिनटमा दर्ता गरे। यस जीतपछि एट्लेटिको म्याड्रिड ५४ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै पाँचौं स्थानमा रहने रियल बेटिससँग ४५ पोइण्ट रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा भिल्लारियलले रियल सोसिएदादलाई २-०-ले पराजित गऱ्यो। रियल सोसिएदाद यस हारपछि पनि ४८ पोइण्टको साथ चौथो स्थानमा कायम रह्यो। भिल्लारियल ४४ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। सेल्टा विगो र अल्मेरियाबीचको म्याच चाहिँ २-२-ले ड्र रह्यो।