गान्तोक: वित्त ऐन २०२३ लाई लिएर हाम्रो सिक्किम पार्टीले राज्यका सबै एसकेएम अनि भाजपा विधायकको राजीनामाको माग गरेको छ। वित्त ऐन २०२३ मार्फत सिक्किमेको हक-अधिकार मास्न र संविधानको धारा ३७१ एफ-लाई तरलीकरण गर्नमा एसकेएम-भाजपाको डबल इञ्जिनको गठवन्धन सरकार बराबर जिम्मेवार छ भन्दै पार्टीले दुवै पार्टीका विधायकहरूको राजीनामाको माग गरेको हो। पार्टी अध्यक्ष भाइचुङ भोटियाले आज एउटा प्रेस विज्ञप्ती जारी गरेर सिक्किमेको हक अधिकार मास्ने कामको शुरुवात राज्यको एसकेएम र केन्द्रको भाजपा सरकारले सर्वोच्च न्यायालयलाई सिक्किमे परिभाषालाई विस्तार गर्ने अधिकार दिएपछि भएको बताएका छन्। त्यसपछि वित्त मन्त्री श्रीमती निर्मला सीतारमणले बुलडोजर चलाएर बिना बहस संसदमा वित्त विधेयक पारित गरेको उनले थप बताएका छन्।
भाइचुङ भोटियाकाअनुसार देशको संसदको इतिहासमा पहिलोपल्ट सत्तारुढ़ पार्टीले नै बाधा सिर्जना गरेर कुनै विधेयक बिना बहस पारित गरएको हो। अर्कोतिर सिक्किमका लोकसभा सांसदले यसमा मौखिक तथा लिखित कुनै पनि रुपमा विरोध नजनाएको पनि उनले विज्ञप्तीमा उल्लेख गरेका छन्। त्यसैले हाम्रो सिक्किम पार्टीले राज्यमा एसकेएम अनि भाजपा पार्टीका सबै विधायकहरूको राजीनामाको माग गरेको हो, उनले भनेका छन्।