सिलगढी। भयावह आगलागी हुँदा एउटा फास्टफुड दोकान जलेर खरानी भएको छ। घटना सिलगढीको एसएफ रोडमा भएको हो। आगलागीमा छेवैमा रहेको एउटा क्लब र एउटा ग्यारेजलाई आंशिक क्षति पुगेको छ। आज घटनास्थलको सिलगढीका मेयर गौतम देवले निरीक्षण गरे। प्राप्त जानकारीअनुसार गत राति ग्यास सिलेण्डरबाट आगो लागेपछि आगोले विकराल रुप लिएर सम्पूर्ण दोकान जलेर खरानी भएको बताइएको छ। स्थानीय मानिसहरूले आगोलाई निभाउने प्रयास गरे। घटनाको खबर पाएर सिलगढी थाना पुलिस र दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याइयो। आगलागीको खबर पाएर आज सिलगढी नगरनिगमको मेयर गौतम देवले घटनास्थलको निरीक्षण गर्नको साथै दोकान मालिकसित कुराकानी पनि गरे। गौतम देवले भने, फुटपाथमा दोकान चलाइरहे तापनि नगरनिगमबाट कुनै बाधा दिएको छैन। तर आफूहरूले फायर सेफ्टीको ध्यान राख्नुपर्छ। यस मुद्धालाई लिएर चाँडै काम गर्नेछौँ। अर्कोतिर, दोकान मालिक टीकाराम उपाध्यायले भने, अचानक ग्यासको रेगुलेटरबाट आगो लागेपछि एकै क्षणमा सम्पूर्ण दोकान जलेर खरानी भएको छ। उक्त घटनामा लगभग ५ लाख रुपियाँको क्षयक्षति भएको तिनले बताए।