एडभेञ्चर टुरिज्ममाथि जी-ट्वेन्टी पर्यटन कार्यदल बैठकमा

IMG-20230402-WA0292.jpg

दार्जिलिङ पहाड़ी क्षेत्रमा स्वागत गर्ने पाएकोमा सासंद राजु विष्टद्वारा खुशी व्यक्त

दार्जिलिङ: एडभेञ्चर टुरिज्ममाथि जी-ट्वेन्टी पर्यटन कार्यदल बैठकमा भाग लिन जी ट्वेन्टीको राष्ट्रहरूबाट आएका प्रतिनिधिहरूलाई दार्जिलिङ पहाड़ी क्षेत्रमा स्वागत गर्ने सुअवसर पाएकोमा दार्जिलिङका सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टले खुशी व्यक्त गरेका छन्। उनले दार्जलिङ पहाड़, सिलगढ़ी, तराई अनि डुवर्सको तर्फबाट सबै प्रतिनिधिहरूलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै एक पहाड़ी क्षेत्रको रूपमा दार्जीलिङ कैयौँ दृष्टिले अग्रणी रहेको छ भनी बताएका छन्। सांसद राजु विष्टले एक विज्ञप्ति जारी गर्दै भने, ‘हाम्रो क्षेत्र सम्पूर्ण एशियामा पहिलो क्षेत्र हो जहाँ १८९७ मा बिजुलीको कनेक्शन स्थापित भएको थियो। भारतका पहाड़ी क्षेत्रमा नै पहिलो नगरपालिका १८५० मा दार्जिलिङमा स्थापना भएको थियो। पहाड़ी क्षेत्रमा पहिलो उद्योग, १८४१-७५ मा चिया उद्योगको स्थापना पनि दार्जीलिङमा नै भएको थियो। रेलले जोड़िएको पहिलो पहाडी क्षेत्र दार्जीलिङ नै हो जहाँ १८७१ मा दार्जीलिङ हिमालयन रेलवेको शुरुआत भएको थियो भने यसलाई विश्वमानै पहिलो युनेस्को वर्ल्ड हेरिटेज मानउन्टेन रेलवे साइटको विशिष्टता पनि हासिल छ। भारतमा उत्पादन गरिने चियाको २८% हाम्रै क्षेत्रमा उत्पादन गरिन्छ, अनि हाम्रो क्षेत्र ३२ वटा आईयूसीएन बायोडाइभर्सिटी हटस्पटहरू मध्ये एकको हिस्सा पनि हो।’

विज्ञप्तिमार्फत् दार्जिलिङका सांसद राजु विष्टले अघि भने, ‘दार्जीलिङ र कालेबुङ भारतमा साहसिक पर्यटन स्थलहरूमध्ये एक पनि हो। दार्जीलिङमा ट्रेकिङ र हाइकिङ जस्ता पर्यटकीय गतिविधिको शुरुआत भयो अनि सगरमाथा (Mount Everest) आरोहणका लगभग सबै प्रारम्भिक प्रयासहरूको मूल दार्जीलिङ नै रह्यो। पर्वतारोहणका शीर्ष व्यक्तित्व तेन्जिङ नोर्गे शेर्पा दार्जीलिङका नै हुनुहुन्थ्यो जो न्युजिल्यान्डका सर एडमन्ड हिलरीसँग सगरमाथा उक्लने प्रथम व्यक्तिहरूमध्ये एक हुनुहुन्थ्यो। दार्जीलिङमा हिमालयन माउन्टेनियरिङ इन्स्टिट्यूटको स्थापना १९५४ मा भएको थियो र यस संस्थानले अहिलेसम्म ४६००० भारतीय नागरिक अनि अन्य २२ राष्ट्रका १६०० विदेशी नागरिकहरूलाई पर्वतारोहणका लागि तालिम दिईसकेको छ। भारतको प्रथम ह्वाइट-वाटर राफ्टिङ यहीँ टीस्टा नदीमा शुरु गरिएको थियो, अनि दार्जीलिङमा नै भारतको एकमात्र माउन्टेन बाइक पार्क – सिञ्चेल-चटकपुरमा स्थित छ। दार्जीलिङ र डुवर्स क्षेत्रमा चार राष्ट्रीय निकुञ्जहरू – सिंगलीला राष्ट्रीय निकुञ्ज, नेवरा भ्याली राष्ट्रीय निकुञ्ज, गोरूमारा राष्ट्रीय निकुञ्ज, र बक्सा राष्ट्रीय निकुञ्ज छन्; छःवटा वन्य जीव अभयारण्यहरू – सिञ्चेल, महानन्दा, जोरपोखरी, जल्दापारा, छाप्रामारी, बक्सा, अनि एउटा बाघ अभयारण्य – बक्सा टाइगर रिजर्भ छन्। यी सबैका कारणले हाम्रो क्षेत्र भारतका सबैभन्दा रोमाञ्चक सतत पर्यटन स्थलहरूमध्ये एक रहिआएको छ।’
उनले अझ भने, ‘समग्र दक्षिण एशियामा एकल महिला पर्यटकका लागि सबैभन्दा सुरक्षित ५ क्षेत्रहरूमध्ये हाम्रो क्षेत्रलाई एक मानिएको छ जो हामी सबैको लागि ठूलो गौरवको विषय हो। हाम्रो यस्तो नैसर्गिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा जी ट्वेन्टीको प्रतिनिधिहरूलाई स्वागत जनाउने अवसर पाउनु मेरो लागि ठूलो आनन्दको विषय हो। मलाई पूर्ण आशा छ कि प्रतिनिधिहरूले हाम्रो सुन्दर ठाउँ, यहाँका मिलनसार जनता र संस्कृतिको भरपूर आनन्द लिने मौका पाउने छन्। यस बैठकले हाम्रो क्षेत्रमा सतत साहसिक पर्यटनको विकासका लागि लगानीको अवसर लिएर आउने छ जसबाट स्थानीय पर्यटकीय उद्यमीहरू तथा पर्यटन उद्योगसँग जोड़िएकाहरू ठूलो मात्रामा लाभान्वित हुनेछन् अनि यसले स्थानीय अर्थतन्त्रलाई मजबूत बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

उनले भने, ‘यस पहलद्वारा हाम्रो क्षेत्रप्रति ध्यानाकर्षित गराउनुभएकोमा म माननीय प्रधानमन्त्री नरेन्द्र मोदी, पर्यटन मन्त्री जी. किसन रेड्डी अनि जी ट्वेन्टीको इन्डिया को-अर्डिनेटर हर्षवर्धन शृङ्गलालाई धन्यवाद दिँदछु। आज पर्यटन मन्त्री जी किसन रेड्डी, राज्य अल्पसंख्यक मामिला मन्त्री जोन बारला र भारत सरकारका अन्य अधिकारीहरूसंग हाम्रो क्षेत्रमा जी ट्वेन्टी प्रतिनिधिहरूलाई स्वागत गर्ने सौभाग्य प्राप्त भयो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement