सिलगढी: सिलगढीको ११ नम्बर वार्ड अन्तर्गत खुदीराम पल्ली इलाकामा हिजो एकजना व्यक्तिले लट्ठीले हिर्काएर रकी नाम गरेको एउटा कुकुरको हत्या गरेको थियो। यस घटनालाई लिएर हिजोदेखि पशु प्रेमी सङ्गठनले रोष व्यक्त गरिरहेको छ। उक्त घटनाको २४ घण्टाको अवधिमै पानीट्याङ्की आउटपोस्ट पुलिसले ३ जना व्यक्तिलाई हिरासतमा लिएको छ।

आज भेनस मोड़ ट्राफिक पोइन्टमा लगभग १२ वटा पशु प्रेमी सङ्गठनले मौन विरोध प्रदर्शन गर्नको साथै मोमबत्ती जलाएर रकीलाई श्रद्धाञ्जलि दिँदै आत्मा शान्तिको कामना पनि गऱ्यो। यस अवधि पशु प्रेमी सङ्गठनका सदस्यहरूले उक्त घटनाको तीव्र निन्दा गर्दै आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने माग पनि गरे।