खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि केही पर नयाँ कमानमा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न भएको छ। नयाँ कमान गाउँको दुईवटा समाजहरू क्रमैले ग्राम कल्याण समिति र कार्य सेवा समिति अनि घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानको १० वटा स्वनिर्भर दलहरूका सहभागितामा उक्त तीन दिवसीय विश्व शान्ति पूजा नयाँ कमानको खेल मैदान परिसरमा सम्पन्न भएको छ। यस तीन दिवसीय विश्व शान्ति पूजामा विशेष रूपमा कालेबुङबाट म्हेम्हे कोन्चोक ग्याल्छेन अनि सिविटारको बाघमारा बस्तीबाट म्हेम्हे लवाङ दोर्जे (स्याङ्देन म्हेम्हे) उपस्थित भई पूजा अर्चना गरेका थिए। यस अन्तर्गत पहिलो दिन ३१ मार्चको दिन दशमीको पूजा गरेर उक्त दिन नै गुरु रिम्पोर्छेको जन्म दिन पनि पालन गरेका छन्। त्यसरी नै दोस्रो दिन १ अप्रेल शनिवार डोल्मा तारादेवीको पूजा साथै घ्याप्से पूजा सम्पन्न भएको छ। दोस्रो दिन कालेबुङबाट आएका म्हेम्हे कोन्चोक ग्याल्छेनले धार्मिक प्रवचन राखेका थिए। त्यसरी नै तेस्रो दिन आज दोमाङ पूजा सम्पन्न गरिएको थियो। यस अवसरमा सिविटारको बाघमारा बस्तीबाट आएका म्हेम्हे लवाङ दोर्जे (स्याङ्देन म्हेम्हे) ले धार्मिक प्रवचन राखेका थिए। विश्व शान्ति पूजाको आज सम्पन्न समापन पूजामा स्याङ्देन म्हेम्हेको बाहुलीबाट वाङ वितरण तथा आशिष ग्रहण गरिएको थियो। घैयाबारी ग्राम पञ्चायत तीन क्षेत्र अन्तर्गत नयाँ कमानको दशवटा स्वनिर्भर दलहरू क्रमैले लक्ष्मी स्वनिर्भर दल, उमङ्ग स्वनिर्भर दल, नौलो सिर्जना स्वनिर्भर दल, स्वर्णिम स्वनिर्भर दल, सदभावना स्वनिर्भर दल, सहयोग स्वनिर्भर दल, कृतज्ञ स्वनिर्भर दल, अपेक्षा स्वनिर्भर दल, एन्जल स्वनिर्भर दल र प्रतिक्षा स्वनिर्भर दल आदिको सहभागीता रहेको थियो।

समापनको दिन आयोजक समितिको पक्षबाट सचिव दिपमाला छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए। नयाँ कमानमा सम्पन्न तीन दिवसीय विश्व शान्ति पूजाको आयोजक समितिमा सभापति मनिता तामाङ, सचिव दिपमाला छेत्री र कोषाध्यक्ष सबिना तामाङ रहेका थिए। यस तीन दिवसीय विश्व शान्ति पूजा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको सचिव दिपमाला छेत्रीले नयाँ कमानको दुईवटा समाज र घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानको दशवटा स्वनिर्भर दलहरूका सहभागितामा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न भएको बताइन्। उनले यो तीन दिवसीय विश्व शान्ति पूजामा सामाजिक, आर्थिक र विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्।