नयाँ दिल्ली: भारत सरकारको भाषिणी परियोजनाअन्तर्गत आईआईटी मद्रासको साझेदारीमा शुरु गरिएको एआइ फोर भारत (AI4Bharat)ले देशका २२ वटा मान्यताप्राप्त भाषाहरूमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’-का निम्ति भाषिक डेटा सङ्ग्रहको काम शुरु गरिसकेको छ, जसमा नेपाली भाषा पनि एक रहेको छ। यसलाई हालैमा शुरु गरिएको एआई फोर भारतको निलेकानी केन्द्रद्वारा सञ्चालित गरिँदैछ।
नेपाली भाषाको दोस्रो चरणको ‘स्पिच डेटा’ सङ्ग्रह कालेबुङ जिल्लाबाट शुरु हुनेछ। कालेबुङबाहेक सिक्किम, दार्जीलिङलगायत असममा पनि डेटा सङ्ग्रहको काम अघि बढाइनेछ।
डिजिटल प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स अनि सामाजिक सञ्जालको बढ्दो प्रयोगबिच सरकारले देशका विभिन्न मान्यताप्राप्त भाषाहरू पनि समयअनुरूप आजका प्रविधिहरूसित जोड्नुपर्ने आवश्यकता महसुस गरेर यो कार्य शुरु गरिएको छ।
अन्तरभाषिक अनुवाद, लिपिकरण, स्पिच डेटा आदि भाषिक प्रविधिसित जडित विषयहरूद्वारा बिस्तारै नेपाली भाषालाई आर्टिफिसियल इन्टेलिजेन्स अनि डिजिटल माध्यमसित जोड्ने यो पहल नेपालीभाषी जनसङ्ख्याको घनत्व धेरै रहेका जिल्लाहरूमा क्रमिक रूपमा अघि बढाइनेछ।
यसका निम्ति देशका विभिन्न स्थानहरूबाट परियोजना संयोजकहरू नियुक्त गरिएका छन्, जसले लिखित एवं कथ्य भाषाका डेटाहरू सङ्ग्रह गरिरहेका छन्।
आफ्नो भाषालाई समयानुकूल अनि प्रविधिको निकट लिएर जाने यस महत्त्वपूर्ण पहलका निम्ति एआई फोर भारतका तर्फबाट ‘नेपाली भाषा’का निम्ति कार्यरत संयोजकहरूले सबै नेपाली भाषीहरूलाई डेटा सङ्ग्रहमा समय अनि सहयोग दिने अपिल गरिएको छ। आउँदो दिनहरूमा भाषा केवल कागज अथवा चलचित्रमा मात्रै सीमित रहने होइन, तर इन्टरनेट, सामाजिक सञ्जाल एवं आर्टिफिसियल इन्टेलिजेन्सको हिस्सा पनि बन्दै गएको हुँदा नेपाली भाषालाई फराकिलो अनि प्रविधिको बाटोमा हिँडाउने अभिभारा केवल सरकारको काँधमा मात्रै नरहेर प्रत्येक जाति अनि भाषाप्रेमीहरूको दायित्व बन्नजान्छ। एआई फोर भारतको माध्यमबाट शुरु भएको यस कार्यद्वारा अहिले देशका विभिन्न संस्थानहरूलाई पनि लाभ पुग्ने अनि पुगिरहेको भन्ने विचारहरू अघि आइरहेका छन्। यस परियोजनासम्बन्धी आधारभूत जानकारी सोझै परियोजनाको निम्न वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छl https://ai4bharat.org/