आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध
जलपाइगढी: राष्ट्रिय राजमार्ग अन्तर्गत बनेको अन्डरपासको जीर्ण अवस्थाले जनतालाई समस्यामा पारेको छ, आकाशबाट पानी पर्दा सडकका खाल्डोमा पानी भरिएर त्यहाँबाट जान कठिन भएको छ। यस अन्डरपासमा जहिले पनि पानी जम्मा हुने सर्वसाधारणको गुनासो छ। थोरै पानी परे पनि घोडासम्म पानी भरिन्छ। लामो समयदेखि सडक मर्मतको माग गर्दै आन्दोलन र गुनासो गर्दा पनि स्थानीय प्रशासनले कुनै पहल गरेन। सडक मर्मतको माग गर्दै स्थानीयबासीहरूले आन्दोलन शुरु गरेका छन्। आइतबार बिहानैदेखि सयौं मानिसहरूले जलपाइगढीको असम मोडको बैरागीपाडा क्षेत्रमा बिरोध प्रदर्शन गर्दै सड़क अवरुद्ध गरे। लामो समयदेखि सडकको अवस्था जीर्ण रहेको स्थानीयवासीको गुनासो छ। सडकको ठूलो हिस्सा खाल्डाखुल्डीले भरिएको छ। अब वर्षायाम आउन लागेको छ। यसैले सडकको जीर्ण अवस्थाका कारण स्थानीय सर्वसाधारण चिन्तित छन्। स्कूल जाने विद्यार्थीहरूलाई आवत जावत गर्नमा असुविधा भएको स्थानीयको गुनासो छ। तर सडक मर्मतमा प्रशासन मौन छ। तत्काल सडक मर्मत नगरे सशक्त आन्दोलनमा उत्रने तथा राष्ट्रीय राजमार्ग अवरुद्ध गर्ने सर्वसाधारणले चेतावनी दिएका छन्।