उत्तर कोरियाः गत साता एउटा क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्न जाँदा किम जङ अनले आफ्नी छोरी किम जु एलाई पनि लगेका थिए। हुन त उत्तर कोरियाका क्षेप्यास्त्र परीक्षणबारे जानकारी राखिरहन पनि अचेल कठिन छ। किनभने दिन बिराएर जस्तै प्योङ्याङले अस्त्र प्रहार गरिरहेको हुन्छ। विगत दुई सातामा लगभग त्यस्तै देखियो। ती परीक्षणका घटना विगतमा जस्तो समाचारका ठूला शीर्षक बन्न छाडिसके। तर समग्रतामा ती परीक्षणहरू हेरियो भने केही जानकारी अवश्य मिल्छ। वर्षौँयता विशाल सैन्य अभ्यास गरेकोमा दक्षिण कोरिया र अमेरिकालाई दण्डित गर्न त्यसो गरिएको उत्तर कोरियाको भनाइ छ। दक्षिण कोरिया र अमेरिकाले आक्रमण भएको खण्डमा उत्तरलाई कसरी परास्त गर्ने भनेर अभ्यास गरिरहेका छन्। यो कुरा किम जङ अनलाई पटक्कै मन पर्दैन। तर अहिले उत्तर कोरियाको विरोध गर्ने शैली पहिलेको जस्तो भने छैन। विगतमा उसले प्रतिक्रियास्वरूप छोटो, मध्यम अनि लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्थ्यो र केही गोलाबारी पनि गर्थ्यो। यसपालि भने दुई साताको अवधिमा प्योङ्याङले उसको सबभन्दा शक्तिशाली र अमेरिकी भूमिमा जतासुकै मार हान्न सक्ने क्षमताको अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्यो। साथै उसले भूमिगत स्थलबाट भएको जस्तो देखिने क्षेप्यास्त्र प्रहार गर्यो र पनडुब्बीबाट पनि प्रहार परीक्षण गर्यो। उसको सेनाले दक्षिण कोरियाली हवाई शिविरमा परमाणुअस्त्र प्रहार गर्ने अभ्यास पनि गर्यो। किम जङ अनले पानीमुनि चल्ने नौलो ड्रोन पनि प्रदर्शन गरे। उक्त ड्रोनले समुद्रमुनि परमाणुअस्त्र प्रहार गर्न सक्ने र त्यसले ‘विशाल स्तरमा रेडिओधर्मी विकिरणको सुनामी’ पैदा गरेर शत्रुपक्षको पानीजहाज नष्ट गरिदिने दाबी उनले गरे।
यी विविध किसिमका अस्त्र थिए।केसीएनए उत्तर कोरियाले पानीमुनि गरेको परीक्षणले चिन्ता बढाएको छ रणनीतिक विषयकी एक विश्लेषक एलेन किम ती प्रदर्शनलाई “उत्तर कोरियाली शैलीको फ्याशन शो” भन्न रुचाउँछिन्।तर उनी र अन्य विश्लेषकहरू यसपालि प्योङ्याङले प्रदर्शन गरेको विविधतापूर्ण अस्त्रबाट चिन्तित छन्। उसले नयाँ अनि परिष्कृत अस्त्रहरू परीक्षण गरेको छ जसलाई जल वा स्थलबाट अमेरिका, दक्षिण कोरिया र जापानसम्म प्रहार गर्न सकिन्छ। “यसअघि पनडुब्बीबाट क्रूज क्षेप्यास्त्र वा भूमिगत स्थलबाट क्षेप्यास्त्र प्रहार गर्न सक्ने उत्तर कोरियाको क्षमताबारे हामीलाई जानकारी थिएन। तर अब उसका अस्त्र पत्ता लगाउन र तिनलाई रोक्न अझ कठिन भएको छ,” एलेन किमले भनिन्। यसबाट उत्तर कोरियाले प्रस्तुत गरेको परमाणु खतरा झन् टड्कारो भएको छ। पनडुब्बीबाट प्रहार गरिएको क्रूज क्षेप्यास्त्रको उदाहरण हेरौँ। सोलस्थित असन इन्स्टिट्यूटका अस्त्रविज्ञ याङ अकका निम्ति यो सबभन्दा चिन्ताजनक छ। उनका अनुसार पानीमुनिबाट प्रहार गरिएका क्षेप्यास्त्रको हकमा ती प्रयोग गरिन लागेको थाहा पाउन गाह्रो हुन्छ। प्रहार भइसकेपछि क्रूज क्षेप्यास्त्र थोरै उचाइमा उड्छ अनि त्यसको उडान पनि निर्देशित गर्न सकिन्छ जसले गर्दा क्षेप्यास्त्र सुरक्षा प्रणालीमा चुनौती थपिन्छ।
किम जङ अनलाई अमेरिकाले आफ्नो देशमाथि पहिले आक्रमण गर्छ र प्रत्याक्रमण गर्न नसक्नेगरी सबै अस्त्र ध्वस्त पारिदिन्छ कि भन्ने डर छ। पछिल्ला परीक्षणहरूमार्फत् उनले दिन चाहेको सन्देश के हो भने अब पहिले आक्रमणमा परे पनि उत्तर कोरियासँग प्रत्याक्रमण गर्न सक्ने क्षमता बाँकी रहन्छ। पानीमुनि वा भूमिगत भण्डारण गरिएका अस्त्र नष्ट गर्न गाह्रो हुन्छ। अर्को शब्दमा भन्ने हो भने किम अन जङको सन्देश होः “हामीलाई आक्रमण गर्नेबारे सोच्दा पनि नसोच्नू।” तर यसमा केही सावधानी अपनाउनु जरुरी छ। विगतमा पनि किमले उनको सैन्य क्षमता अलि बढाइचढाइ गरेर प्रस्तुत गर्थे। महत्त्वपूर्ण प्रश्न परमाणु सम्बन्धी हो। उत्तर कोरियाको दाबी के छ भने उसले पछिल्लो समय परीक्षण गरेका क्षेप्यास्त्रहरू परमाणु क्षमता भएका युद्धशीर्ष बोक्न सक्षम छन्। तर अधिकांशले केवल थोरै तौलका साना युद्धशीर्ष बोक्न सक्छन्। त्यस्ता युद्धशीर्ष बनाउने क्षमता प्योङ्याङले अझै प्रस्तुत गरिसकेको छैन।उसले त्यस्ता परमाणु क्षमता परीक्षण नगरेसम्म हामीलाई थाहा हुँदैन। गुप्तचर निकायहरूले त्यस्ता परमाणु परीक्षणको चिन्तापूर्वक प्रतीक्षा गरिरहेका छन्।जब उत्तर कोरियाले साना आकारका युद्धशीर्ष ठूलो स्तरमा उत्पादन गर्न सक्छ तब उसले अभ्यासका बेला प्रस्तुत गर्दै आएका खतराहरू वास्तविकतामा परिणत हुन सक्छन्। कतिपयले यस्तो बेला अमेरिका र अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियालाई वार्तामा ल्याउन थप काम गर्नुपर्ने औँल्याएका छन्। त्यसो गर्दा त्यस्ता परमाणु परीक्षणहरू रोकिन सक्छन्। गत चार वर्षदेखि दुई पक्षबीचको वार्ता अवरुद्ध छ। फेरि कुराकानी थाल्न प्योङ्याङ इच्छुक देखिँदैन। आफूलाई फाइदा हुने समय उसले रोज्ने गर्छ।केसीएनए किम जङ अनले आफ्नो देशको क्षमता बढाइचढाइ गर्ने गरेको बताइन्छ संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा चीन र रुसले उत्तर कोरियालाई दण्डित गर्नबाट रोकिरहँदा उसले भने बिना कुनै चुनौती अस्त्र विकास गरिरहन सक्छ। किन विकास रोक्नु? जति राम्रो र शक्तिशाली अस्त्र उति आफ्नो हात बलियो हुने उसले ठान्छ। साना आकारका युद्धशीर्षका अतिरिक्त उत्तर कोरियाले प्रमाणित गर्न बाँकी अर्को क्षमता भनेको उसले निरन्तर रूपमा त्यस्ता युद्धशीर्षसहितका क्षेप्यास्त्रलाई कुशलतापूर्वक अन्तरमहादेशीय लामो उडान गराउन सक्नु हो। अहिले उसले अन्तरिक्षमा ताकेर लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्ने गर्छ। ऊ परिष्कृत अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र – जसलाई चाँडो र अर्को पक्षले थाहा नपाउनेगरी प्रहार गर्न सकिन्छ – बनाउन चाहन्छ। किम जङ अनलाई देशभित्रकै चुनौतीले पनि अस्त्र निर्माणमा ध्यान दिन बाध्य पारेको विश्लेषक याङ अक ठान्छन्। आन्तरिक आर्थिक समस्या अनि बढ्दो भोकमरीका माझ परमाणु कार्यक्रम अघि बढाउनु नै उनको निम्ति एकमात्र विकल्प भएको याङ ठान्छन्।त्यसैले आगामी दिनमा उत्तर कोरियाले थप विविधतापूर्ण अनि खतरनाक अस्त्र विकास गर्न लागिपर्ने देखिन्छ।एलेन किमका निम्ति एउटा कुरा भने निश्चित नै छ: “थप परीक्षणहरू हुनेछन्।”