काठमाडौंः नेपालको पटक-पटकको आग्रहपछि चीनले आजबाट रसुवागढी नाकाबाट दुईतर्फी आवागमन खोलेको छ। तीन वर्षयता चीनले आफ्नो तर्फको कन्टेनर मात्र आउन जान दिएकोमा आजबाट नेपालतर्फको कन्टेनर पनि आउन दिएको हो। नेपालको रसुवा भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले आजबाट विधिवत् रुपमा नाका दुईतर्फी खुल्ला गर्ने गरी उद्घाटन भएको जानकारी दिए। सन् २०२० को सुरुबाट चीनले बन्द गरेको नाका पछि एकतर्फी मात्र खुल्ला गरेको थियो। आज शनिवारबाट भने नेपाली ट्यांकरलाई पनि चीन प्रवेश गर्न दिएको भण्डारीले बताए।
नेपालका वाणिज्य सचिव मधुकुमार मरासिनी तिब्बतको राजधानी ल्हासा पुगी चिनियाँ अधिकारीहरुसम्म वार्ता गरेपछि नाका दुईतर्फी खोल्ने सहमति बनेको हो। मरासिनीसहित ल्हासाका नेपाली महावाणिज्यदूत नवराज ढकाल पनि स्थलमार्गबाट रसुवागढी नाका हुँदै आएको भण्डारीले जानकारी दिए। चीनले नेपाली ट्यांकरलाई रोक्दा व्यवसायीहरुले ठूलो नोक्शानी व्यहोरेका थिए। चीनले आफ्नो सामान मात्र नेपालतर्फ पठाउने र नेपालको सामान रोक्ने गर्दै आएको थियो। चीनको केरुङसम्म नेपालीहरु जान पाउने गरी नाका खोलेको छ। यसअघि कोभिड १९ को जोखिम भन्दै चीनले सीमानाकासम्म पनि प्रवेश निषेध गरेको थियो।