केरल ब्लास्टर्समाथि ४ करोड़ रुपियाँको जरिमाना लगायो एआईएफएफ-ले

IMG-20230401-WA0145.jpg

१ अप्रेलः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को अनुशासनात्मक समितिले ३ मार्चको दिन बेंगलुरु एफसी विरुद्ध इण्डियन सुपर लीग (आईएसएल)-को प्लेअफ् म्याच बीचमै छोड़्ने केरल ब्लास्टर्स एफसी-माथि ४ करोड़ रुपियाँको जरिमाना लगायो। एआईएफएफ-ले एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको छ। अनुशासनात्मक समितिले म्याचमा सामेल सबै पक्षको विचार सुनेपछि केरल ब्लास्टर्समाथि भारी जरिमाना लगाउनको साथै म्याच बीचमा छोड़्ने अनुचित आचरणको निम्ति सार्वजनिक माफी माग्ने निर्देश पनि दियो। यस्तो नगरे केरल ब्लास्टर्समाथि लगाइएको जरिमानालाई बढ़ाएर ६ करोड़ रुपियाँ गरिनेछ। उल्लेखनीय छ, बेंगलुरुको श्री कान्तीरवा स्टेडियममा भएको म्याचमा सुनिल छेत्रीले फ्री किकमा गरेको गोललाई लिएर विवाद सृष्टि हुँदा ब्लास्टर्सको टीम मैदान छोड़ेर गएको थियो। ब्लास्टर्सको भनाइअनुसार, सुनिल छेत्रीले फ्री किक लिँदा उनीहरू तयार थिएनन्। यस सम्बन्धमा क्लबले रेफरी क्रिस्टल जोन्स विरुद्ध एआईएफएफ समक्ष नालिश पनि दर्ता गरेको थियो। ब्लास्टर्सका मुख्य प्रशिक्षक इवान वुकोमानोविकमाथि एआईएफएफ-को प्रतियोगिताहरूमा १० वटा म्याचको प्रतिबन्ध लगाइएको छ। यसको साथमा उनले ५ लाख रुपियाँको जरिमाना पनि तिर्नु पर्नेछ। महासंघले ब्लास्टर्स र वुकोमानोविकलाई एक हप्ता भित्र यस आदेशको पालन गर्ने निर्देश दिएको छ। दुवै पक्षसँग यस आदेश विरुद्ध अपील दायर गर्ने अधिकार रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement