प्रतिनिधि टोलीद्वारा मकैबारी चियाबारीको उत्पादनको निरीक्षण
खरसाङ: जी २० प्रतिनिधि मण्डलका सदस्यहरूलाई खरसाङको मकैबारीमा आज न्यानो स्वागत जनाइयो। प्रतिनिधि मण्डलका सदस्यहरू खरसाङ आउने क्रममा विभिन्न ठाउँहरूमा मानिसहरूले स्वागत जनाए भने मकैबारीमा आइपुगेपछि खरसाङ महकुमा शासक आईएएस एजाज अहमद, स्थानीय मकैबारीका प्रबन्धक, सह प्रबन्धकहरू लगायत स्थानीय चिया श्रमिक र ग्रामवासीले विभिन्न जातिय वेशभूषामा सजिएर तथा गीतहरू गाउँदै भव्य स्वागत जनाए।

यस अवधि प्रतिनिधिहरूले मकैबारी चिया बगानको विश्व प्रसिद्ध चिया पनि पिए औ यसको प्रसंशा गरे। त्यसपछि उनीहरूले मकैबारी चिया कारखानाको भ्रमण गरे औ चिया निर्माण सम्बन्धी आवश्यक जानकारीहरू लिए। चिया कारखानादेखि सोझै उनीहरू यहाँको ताज चाय कुटीरमा आयोजित एउटा बैठकमा भाग लिन गए। त्यहाँ पूर्वोत्तर क्षेत्रका केन्द्रीय पर्यटन, संस्कृति र विकास मन्त्री जी किशन रेड्डी, मिस जाब्रिला स्टावेल, उपाध्यक्ष, एटीटीए लगायतका वक्ताहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्नको लागि साहसिक पर्यटन सम्बन्धि आ-आफ्नो विचारहरू राखे।

यता ती प्रतिनिधि मण्डलका सदस्यहरूलाई कठोर सुरक्षा व्यवस्थाबीच यहाँ ल्याइएको थियो भने मकैबारी क्षेत्रलाई पनि कठोर सुरक्षाको घेरोमा राखिएको छ औ आज पंखाबारी रोड भएर कुनै गाड़ीहरू पनि चल्न दिइएन।