(लघुकथा)     बालबिवाह

Prevention Of Child Marriage (Amendment) Bill, 2021

छोरीको विवाहको निमन्त्रणा गर्दै आएका बेहुलीका बाबु भोला भाइलाई मेलै सोधिहालेँ , “उमेर पुगेरै छोरीको बिवाह गर्दै हुनुहुन्छ नि? आजभोलि त दिग्दार छ है।” 

“केटाको घरको आर्थिक अवस्था राम्रो रहेछ। जग्गा-जमीन धेरै, खान्दानी परिवार। केटो पनि छि: भन्नेखाल्को छैन। बिहेपछि जति पढे पनि पढाउँछन् ‘रे। छोरी पनि अठारह वर्षकी भएकाले हामीले पनि आँट गरेको हो।” कति सहजता थियो उनको जवाफमा। आफैले तेत्रो कुरा तेर्स्याएपछि मेरो मुखै बन्द भयो। “भोलिको दिनमा केही नराम्रो अपजस आइलाग्यो भने अनुहार कालो मोसो दले बराबरको हुन्छ। बिहे गर्दा टन्टै खतम। कसैले  मिडिया ल्याएर नाबालिका हो भनेर ठोकुवा गर्न सक्तैनन्। ढुक्क भएर आउनु होला।”

भोला भाइले जन्म कुण्डलीको आधारमा बिवाह गरेर छोरी पठाए। दुई महिनापछि  मलाई जिल्ला प्रहरी कार्यालयबाट अचानक भोला भाइको फोन आयो। “दाइ छिट्टै आउनुहोस् न म अफ्ठ्यारोमा परेँ।” 

कार्यालयमा यथा समयमा पुगेँ। भोला भाइ त कालो अनुहार पारेर उभिएका थिए। छेउमा श्रीमती, छोरी अलिक पर ज्वाइँ, सम्धि -सम्धिनी। बिहेका जन्ती भन्दा बढी मान्छे। अनुमान गरिहालेँ। समस्या ठुलो आइपरेछ, अहँ! बिहे लामो नटिक्ने रैछ। भोला भाइ मेरो कानमा आएर भन्न लागे “पछि नोकरीको सुविधा हुन्छ भन्ने सोचेर छोरीको जन्म प्रमाणपत्रमा दुई वर्ष सानो देखाएको थियो। अब पो फसाद पर्ने भयो। दाइ हजुरले चिने जानेका वकिल मन्त्री लगाएर काम निप्टाइ दिनुहोस् न! बिहे गर्ने उमेर पुगेको रहेनछ।”

About Author

Advertisement