गान्तोक। स्टेट प्रेस एक्रिडिटेशन कमिटीको महत्वपूर्ण बैठक आज यहाँको तादोङस्थित सूचना भवनमा सम्पन्न भयो। सूचना एवं जनसम्पर्क विभागका सचिव एवं स्टेट प्रेस एक्रिडिटेशन कमिटीका अध्यक्ष नम्रता थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष शेखर खवास, महासचिव डीआर दुलाल, कमिटीका सदस्यहरू आब्देन लेप्चा, सागर छेत्री अनि राजेन प्रधानको उपस्थिति रहेको थियो। बैठकमा दुई वर्षे कार्यकाल सकिएको वर्तमान स्टेट प्रेस एक्रिडिटेशन कमिटीको विघटन र नयाँ समिति गठनका विषयमा छलफल भयो। बैठकमा राज्यमा प्रेस मान्यतालाई मार्गदर्शन गर्ने २०१४ को राजपत्र अधिसूचनालाई पनि उल्लेख गर्दै मिडियामा विकसित प्रवृत्तिहरू समावेश गर्न यसलाई परिमार्जन गर्ने सम्भावनाहरूबारे छलफल गरियो।