फाँसीदेवा: आज फाँसीदेवाको चटहाट सडकमा अटो बन्द गरेर सिटी अटो चालकहरूले रेली निकालेर विक्षोभ प्रदर्शन गरे। अटो चालकहरूको आरोप अनुसार राजकीय सडकमा अवैध रूपमा टोटो चलाचल गरेकोले गर्दा सिटी अटो चालकहरूलाई समस्याको सामना गर्न परिरहेको छ। टोटोको चलाचलले गर्दा भाडा तथा अटोको खर्च समेत निकाल्न निक्कै असुविधा भइरहेको छ। टोटो चालकहरूसित विवाद तथा हातापाई समेत हुने गर्दछ। यसैले गर्दा आज अटो बन्द राखेर अटो चालकहरूले विक्षोभ प्रदर्शन गरेको हो। घटनाको खबर पाएर फाँसीदेवा पुलिस घटनास्थलमा पुगेका थिए। पछि अटो चालक युनियनको तर्फबाट फाँसीदेवाका बीडीओलाई एउटा ज्ञापन पत्र पनि चढाइयो। फाँसीदेवा थानामा पनि तिनीहरूले विक्षोभ प्रदर्शन गरे। यस विषयमा संगठनका सचिव जगदीश रायले भने, यात्रीहरूलाई चढाउने विषयलाई केन्द्र गरेर टोटो चालकहरूद्वारा अटो चालकहरूलाई दिग्दारी दिइरहेको छ। हाईवेमा अटो चालकहरूमाथि बारम्बार हमला हुने गर्दछ। अटो चालकहरूले सरकारी गाइडलाइन पालन गरेर सरकारी कागजपत्र बनाएर अटो चलाए तापनि वैध कागजपत्र बिनै टोटो चालकहरूले टोटो चलाइरहेका छन्। उक्त समस्याको समाधान नगरेको खण्डमा संगठनका सदस्यहरूले आगामी ५ अप्रेलमा आन्दोलन गर्ने चेताउनी दिएको छ। पुलिसको आश्वासनपछि सिटी अटो चालकहरूले विरोध प्रदर्शन हटाए।