साहित्य अकादमीको सदस्यताः डुवर्समा तीव्र प्रतिवाद

IMG_20230331_214405.jpg


वीरपाड़ाः हालै साहित्य अकादमी नयाँ दिल्लीको नेपाली भाषा परामर्श समितिमा डुवर्सबाट श्रीमती अमृता राणा सदस्य मनोनित भएकोमा डुवर्सका साहित्यिकार तथा बुद्धिजीवीहरूबीच तीव्र रोष उत्पन्न भएको छ। डुवर्सका साहित्यकारहरूले यसलाई ‘परिवारवाद’-को संज्ञा दिँदै यसको खुलेरै प्रतिवाद जनाएका छन्। उल्लेखनीय छ, यसअघि पछिल्लो दश वर्ष डा. जीवन राणा डुवर्सबाट साहित्य अकादमीमा नेपाली भाषा परामर्श समिति सदस्य रहेका थिए। डा. राणा अमृता राणाका पति हुन्। एकाध पुस्तिका आकारका पुस्तक प्रकाशित हुनुबाहेक डुवर्सेली साहित्यमा श्रीमती राणाको विशिष्ट परिचय छैन। डुवर्सकै साहित्यकारहरूले पनि उनलाई चिन्दैनन् भन्ने यहाँका साहित्यकारहरूको भनाई छ। आफू दश वर्ष डुवर्सको प्रतिनिधि भएपछि क्रमिक कार्यकालमै लगत्तै डा. राणाले आफ्नी श्रीमतीलाई साहित्य अकादमी जस्तो उच्च साहित्यिक संस्थानमा लबी चलाएर सदस्यता दिलाएको भन्दै डुवर्सका साहित्यकारहरूले खुलेरै लेखेपछि शुक्रवार दिनभरि सामाजिक सञ्जालमा यो विरोध र बहस चुलिएको थियो।
डुवर्सको सबैभन्दा पुरानो माउ साहित्यिक संस्था डुवर्स नेपाली साहित्य विकास समितिले डुवर्सबाट अमृता राणाको मनोनयप्रति तीव्र आपत्ति जनाएको छ। समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले यस्तो उच्च राष्ट्रिय साहित्यिक संस्थानमा ‘परिवारवाद’ हावी भएको स्वीकार्य नहुने मन्तव्य गरे। उनले भने-यस्तो उच्च सरकारी अटोनोमस बडीमा सदस्य हुनाका लागि कुनै पनि व्यक्ति साहित्यिक रूपले योग्य हुनुपर्छ। तर डुवर्सका नयाँ सदस्यलाई डुवर्सकै साहित्यिक माहौलले चिन्दैन। यो कुरालाई जस्टिफाइ गर्न अहिले उनको शिक्षाको डिग्रीलाई हतियार बनाइँदैछ र उनी विशिष्ट र विदुषी हुन् भन्ने न्यारेटिभ बनाइँदैछ, तर यो चाहिँ सिधैँ आँखामा धुलो हाल्ने काम हो। डुवर्समा धेरै योग्य र सर्वमान्य साहित्यकारहरू हुँदाहुँदै पनि एउटै परिवारबाट लगातार तेस्रो वर्ष पनि साहित्य अकादमीमा सदस्यता प्राप्त गर्नुले अकादमीको गरिमा धुलिसात भएको छ। हामीलाई यो मान्य छैन। हामी साहित्य अकादमीको मुख्यालयमा लिखित आपत्ति जनाउँछौं। अर्कोतिर, समितिका सचिव रविन खवासले पनि यस्तो मनोनयनले डुवर्सेली साहित्यकारहरूको अपमान भएको अनि डुवर्सको साहित्यिक स्तर यत्तिकै रहेछ भन्ने बाहिरी संसारमा बोध हुनगएको मन्तव्य गरे। उनले भने, डुवर्समा लामो समयदेखि साहित्यमा साधना गरिरहेका अनि स्तरीय साहित्य लेख्दै आएका विशिष्ट साहित्यिक हस्तीहरू छन्। उनीहरूलाई सदस्यता प्रदान गर्नका सट्टा डुवर्सेली साहित्यलाई प्रतिनिधिकता दिन नसक्ने एउटै परिवारको सदस्यले तेस्रो वर्ष पनि परामर्श समितिमा सदस्यता पाउनु कुनै हिसाबले पनि पच्ने कुरा होइन। हामी यसप्रति सम्बन्धित निकायमा तीव्र आपत्ति पत्र लेख्छौं र डुवर्सका लागि गरिएको यसप्रकारको मनोनयनको खारेजीको माग गर्छौं। डुवर्सको नाममा यस्तो खेलाइँची गर्न पाइँदैन। साहित्य अकादमीबाट डुवर्सप्रति बारबार खेलाइँची भएकोले यस घटनाको जोड़दार विरोध र प्रतिवाद जनाउने खवासले बताए। समितिले एक-दुई दिनमै एउटा आपात्कालीन बैठक बसेर प्रतिवादको रणनीति तय गर्ने उनले जानकारी दिए। डुवर्सका प्रतिष्ठित तथा युवा साहित्यकारहरूले पनि यस घटनाको खुलेरै प्रतिवाद जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement