सिलगढी: इन्डियन बडी बिल्डिङ फेडरेशनद्वारा पटनामा आयोजित दुईदिने मिस्टर इन्डिया प्रतियोगितामा सिलगढीका विशाल गुप्ताले पहिलो स्थान ओगटेका छन्। यस प्रतियोगितामा पञ्जाब, मध्यप्रदेश, बिहार, केरल, तेलङ्गना सहित देशका अलग-अलग राज्यहरूबाट १५० जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। पटनाको दानापुरमा इन्डियन बडी बिल्डिङ फेडरेशन (आईबीबीएफ) द्वारा गत २५ र २६मार्चमा बडी बिल्डिङ मिस्टर इन्डिया प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा ९० किलो वर्गमा सिलगढीका विशाल गुप्ताले पहिलो स्थान हासिल गरेर मिस्टर इन्डियाको खिताब हत्याउन सफल बनेका हुन्। आज सिलगढी फर्किआएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, वर्ष २०१८ मा आयोजित बडी बिल्डिङ प्रतियोगितामा अंश ग्रहण गरेर रजत पदक जितेको थिए। चार वर्षपछि एकपल्ट फेरि उक्त प्रतियोगितामा अंश ग्रहण गरेर पहिलो स्थान ओगट्दै स्वर्ण पदक जित्न सफल बनेको छु। यसको लागि गत अगस्त महिनादेखि ट्रेनिङ शुरू गरेको थिए। आगामी दिनमा एसियन गेम्समा खेल्नको लागि तयारी गर्ने बताए।