कालचिनीः गत २५ फरवरीको दिन ३१ सी राष्ट्रिय राजमार्ग निमती गरमबस्ती संलन क्षेत्रबाट तीनजना लुटाहाको दलले एउटा कुकरा बोक्ने पिक-अप भ्यानलाई रोकेर लुट मच्याउँदै प्रायः डेढ़ लाख रुपियाँ थुतेर चम्पट कसेको थियो भने उक्त सम्बन्धमा कालचिनी थानामा लिखित अभियोग दर्ता भएको थियो। यसैको आधारमा कालचिनी थानाको पुलिसबलले थाना प्रभारी टीएन लामाको नेतृत्वमा जाँच चलाईरहेकोबीच कोचबिहार जिल्लाको तुफानगञ्जमा यी लुटाहाहरू लुकेर बसेको थाह पाएपछि कालचिनी थानाको पुलिसबल पुगेर तीनजना लुटाहाहरू क्रमैले मनुअर अली, मफीजुल हक र वसीर अलीलाई पक्राउ गरेर ल्याउन सफल भएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्। पक्रा परेका तीनैजनालाई जिल्ला अदालतमा उभ्याएपछि जेल पठाएको छ। पुलिस सुत्रले बताए अनुसार ३१ सी राष्ट्रिय राजमार्गमा लुटपाट गर्ने गिरोहको भन्डाफोर भएको र यसमा अझै एकजना लुटाहा भागेको प्रारम्भिक जाँचमा पतो लागेको छ।
असमबाट बोलेरो गाड़ीमा आएर यी लुटाहाहरूले यस्तै लुटपाट गर्दै आईरहेको र पक्रा पर्ने जम्मै असम धुबरी जिल्लाको रहेको पुलिस सुत्रले जनाएका छन्। घटनाको जाँचको निम्ति दरकार परेको खण्डमा यी आरोपीहरूलाई पुलिस रिमान्डमा ल्याउन सकिने पनि कालचिनी थाना प्रभारी टीएन लामाले थप जनाएका छन्।