सिलगढी: सिलगढीको बलासन नदीको जलस्तर निक्कै बढेको छ। जसले गर्दा वाहनहरूको आवत-जावत गर्न सुविधाको लागि बनाइएको वैकल्पिक वेदर ब्रिजलाई पनि अत्याधिक वर्षाले नोक्सान पुऱ्याइएको छ। वेदर ब्रिजको छेउको बाटोको केही भाग नदीले बगाएर लगेको छ। यसको साथै नदीको जल स्तर बढेकोले ब्रिजको माथिबाट पानी बगिरहेको छ। यसैले प्रशासनले बलासन नदीमाथि बनिएको वैकल्पिक वेदर ब्रिजको माथिबाट वाहनहरूको आवत जावत बन्द गरिदिएको छ। स्मरण रहोस, गत वर्ष अक्टोबर महिनामा लगातार २ दिनसम्म अत्याधिक पानी परेपछि बलासन नदी ब्रिजको तीन नम्बर पिलर धस्किएको थियो। यसपछि वाहनहरू आवत जावत गर्नमा निक्कै असुविधा भएपछि बलासन ब्रिजमाथि वेली ब्रिजको निर्माण गरिएको थियो। तथापि वेली ब्रिजमाथि अधिक दबाउ बढ़ेपछि पीडब्ल्यूडी को तर्फबाट गत दिसम्बर महिनामा वैकल्पिक ४४ मीटरको ब्रिज साथै लगभग २०० मीटरको सडक निर्माण गरिदिएको थियो। गत राति परेको अत्याधिक वर्षाले ब्रिजलाई नोक्सान पुयाएपछि प्रशासनले आज बिहानदेखि उक्त ब्रिज भएर सबै वाहनहरूको चलाचल बन्द गरिदिएको छ। आज बिहान क्षतिग्रस्त वेदर ब्रिजको ट्राफिक एडीसीपी पुर्णिमा शेर्पाले निरीक्षण गरिन्।










