मालदाः सिपीमको ट्रेड युनियन ‘सिटु’ले यातायातका कर्मचारीमाथिको पुलिस दुव्र्यवहार र १५ वर्ष पुराना सवारीसाधन हटाउने विषयमा प्रदेश र केन्द्र सरकारविरुद्ध आन्दोलनलाई तीव्र बनाएको छ। सिटुको ब्यानरमा यातायात कर्मचारीले बुधबार दिउँसो माल्दा शहरमा विशाल र्याली निकालेका थिए तथा सो र्यालीले जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्ना मागसहितको ज्ञापनपत्र डिएमलाई बुझाएको छ। संगठनका नेताहरूले केन्द्र र राज्य सरकारले यातायात व्यवस्थामा लगाएको निर्देशनको कडा विरोध गरेका छन्। यस अवसरमा मालदाका सिटु नेता नुरुल इस्लामले केन्द्रीय सरकारले यातायात, सडक यातायात र सुरक्षा विधेयक २०१९ को नाममा ल्याइएको कानूनले मजदुरका लागि भविष्यमा गम्भीर संकट निम्त्याउने बताए।
उनले बताए , १५ वर्ष पुराना गाडीलाई कुनै पनि हालतमा चल्न नदिने भनिएको छ। मालदामा लगभग ३० देखि ३५ हजार सरकारी र निजी सवारीसाधन चल्छन्।अधिकांश सवारी साधन १५ वर्षभन्दा पुराना भएपछि स्क्र्याप गरिने बताइएको छ। यसले यातायात मजदुरदेखि आम साना व्यापारीसम्म सबैलाई प्रतिकूल असर पार्ने बताइएको छ। यससँगै राज्य सरकारको आरटीओ कार्यालयले पनि धेरै पटक अनावश्यक जरिवाना वा पैसा उठाउने गरेको छ। यी सबै विषयमा आज विरोध र्याली निकाल्दै डिएमलाई ज्ञापनपत्र बुझाइएको उनले बताए।