जलपाइगढी: वामपन्थी नेताहरूले केन्द्रको भाजपा सरकारविरुद्ध विभिन्न मागलाई लिएर आन्दोलनलाई तीब्र बनाएका छन्। मोर्चाको राज्य समितिको निर्देशनमा जलपाइगढी जिल्ला वाम मोर्चाले केन्द्र सरकारको विभिन्न जनविरोधी नीतिका विरुद्ध अप्रिल ७ सम्म आन्दोलनको घोषणा गरेको छ। यसै सन्दर्भमा वाम मोर्चाका जिल्ला संयोजक सलिल आचार्यले अन्य नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरी, केन्द्र सरकारले तानाशाही र अलोकतान्त्रिक काम गरेको आरोप लगाए। आचार्यले आम जनतालाई चरम विपन्नता गरेको आरोप लगाए। तिनले वाम आन्दोलनमा जनसहभागिता बढ्दै गएको बताए साथै आरएसएस र भाजपा मिलेर राज्यमा अशान्तिको वातावरण सिर्जना गर्न खोजेको आरोप पनि लगाए।
तृणमूल सरकारका केही नेता तथा मन्त्रीहरू अहिले जेलमा छन्। उनीहरूले, राज्यको भ्रष्ट सरकार विरुद्ध जिल्लाभर आन्दोलन गर्ने बताए। अप्रेल ७ सम्म जिल्लाका विभिन्न हाट, बजार र जनबहुल क्षेत्रमा सभा र जुलुस गरिने पनि बताएका छन्। सलिल आचार्यले, राज्यका जनतालाई सरकारी सुविधाबाट वञ्चित गर्न नहुने बताए। सय दिनको कामको बक्यौता भुक्तानी, आधार र प्यान कार्ड लिङ्क गर्दा एक हजार रुपियाँ जरिवानाको सरकारी फतवा फिर्ता गर्नुपर्ने, आलुको १० रुपियाँ सहुलियत मूल्यको माग, किसानलाई आलु भण्डारण ग्यारेन्टी, कृषि ऋण माफी लगायत विभिन्न मागमा वाम मोर्चाले निरन्तर आन्दोलन गरिरहेको पनि उनले बताए। यसका साथै उनले, राहुल गान्धीको सांसद पद रद्द गर्ने विषयमा केन्द्र सरकारको निरंकुश-अलोकतान्त्रिक गतिविधिको पनि विरोध गरे।