आयरल्याण्ड विरुद्ध सीरीजमा हार्दिक कप्तान, त्रिपाठीलाई मौका

IMG-20220616-WA0081.jpg

१६ जूनः आयरल्याण्ड विरुद्ध दुईवटा म्याचको टी२० सीरीजको निम्ति १७ सदस्यीय भारतीय टीमको घोषणा गरियो। आईपीएल २०२२-का च्याम्पियन कप्तान हार्दिक पाण्ड्याले टीमको अगुवाई गर्नेछन्। टीममा सूर्यकुमार यादव फर्किएका छन्। चोटले गर्दा सूर्यकुमार आईपीएल-को बीचमा मुम्बई इण्डियन्स टीमबाट बाहिर भएका थिए। उनी दक्षिण अफ्रिका विरुद्ध जारी टी२० सीरीजमा पनि टीममा छैनन्। यसबीच चयनकर्ताहरूले भारतीय टीममा युवा ब्याटर राहुल त्रिपाठीलाई मौका दिएका छन्। आईपीएल र घरेलु क्रिकेटमा लगातार असल प्रदर्शन गर्ने त्रिपाठीलाई दक्षिण अफ्रिका विरुद्ध सीरीजमा मौका प्राप्त नहुँदा निक्कै आलोचना भएको थियो तर यसपाली चयनकर्ताहरूले उनीमाथि भरोसा देखाएका छन्। आईपीएल २०२२-मा राहुल त्रिपाठीले १५८-को प्रभावशाली स्ट्राईक रेटले ४१३ रन बनाएका थिए। यसको साथमा आयरल्याण्ड जाने टीममा विकेटकीपर-ब्याटर सञ्जु सेमसनलाई पनि स्थान दिइएको छ। उनको कप्तानीमा राजस्थान रोयल्स आईपीएलको फाइनलमा पुगेको थियो।
पेस बलर भुवनेश्वर कुमार आयरल्याण्ड विरुद्ध सीरीजमा टीमका उपकप्तान हुनेछन्। टीमको बलिंग आक्रमणमा कुनै बद्लाउ गरिएको छैन। दक्षिण अफ्रिका विरुद्ध सीरीजको निम्ति टीममा सामेल दुई युवा पेसर उमरान मलिक र अर्शदीप सिंह आयरल्याण्ड जानेछन्। स्पिन आक्रमणको जिम्मेवारी युजवेन्द्र चहल र अक्षर पटेलको साथमा रवि विश्नोईको काँधमा हुनेछ। भारत र आयरल्याण्डबीच दुईवटा म्याचको टी२० सीरीज २६ र २८ जूनमा खेलिनेछ। त्यस समय भारतीय टीमका प्रमुख खेलाड़ीहरू ईंग्ल्याण्डमा हुनेछन्। भारतले १ जुलाईदेखि ईंग्ल्याण्ड विरुद्ध एउटा टेस्ट म्याच खेल्नु छ। त्यसअघि अभ्यास म्याच खेलिनेछ। यसैकारण आयरल्याण्ड जाने टीममा रिषभ पन्त र श्रेयस अय्यर सामेल छैनन्। दक्षिण अफ्रिका विरुद्ध सीरीज समाप्त भएपछि उनीहरू सीधै ईंग्ल्याण्ड जानेछन्।
आयरल्याण्ड विरुद्ध टी२० सीरीजको निम्ति भारतीय टीमः
हार्दिक पाण्ड्या (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), ईशान किशन, रुतुराज गायकवाड़, सञ्जु सेमसन, सूर्यकुमार यादव, भेंकटेश अय्यर, दीपक हुड्डा, राहुल त्रिपाठी, दिनेश कार्तिक (विकेटकीपर), युजवेन्द्र चहल, अक्षर पटेल, रवि विश्नोई, हर्षल पटेल, अवेश खान, अर्शदीप सिंह र उमरान मलिक।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement