कालचिनी – लगातार परिरहेको मुसलधारे पानीले डुवर्सको नदीनालाहरू जलथल बनेको अवस्थाबीच हाल धेरै गाउँ घरहरूमा पानी पस्नाले मानिसहरू जलबन्दीको अवस्थामा बाँच्न परिरहेको दृश्य परिलक्षित भएको छ। कालचिनी खण्डको ट्रली लाईनको नाला भत्किरहेकोले पीएमजीएसवाई सड़क भएर मेचपाड़ा जाने सड़कको कल्भर्ट प्रायः भत्किने अवस्थामा रहेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। कुनै पनि बेला कल्भर्ट नालामा भासिने सम्भावना रहेको क्षेत्रबासीले बताएका छन्।

ट्रली लाईनको घरहरूमा पानी पसिरहेको गाउँलेहरूले जनाएका छन्। अर्कोतिर हेमिल्टनगञ्ज रविन्द्रनगर क्षेत्रको विश्वनाथपाड़ामा धेरै घरहरू जलमग्न भएको त्यसमाथि राति जङ्गली हात्तीले स्थानीय तीनजना बासिन्दाहरूको घर भत्काएर रासन सामग्री सबै खाइदिएको पीड़ित परिवार सदस्यहरूले जनाएका छन्। हात्तीले विश्वनाथपाड़ा निवासी अमित कुजुर, रिता कुजुर र सुलेस कुजुरको घर फोरेर जम्मै रासन सामग्री खाइदिएको र कुनै तरीकाले ज्यान बचाएर घरका सदस्यहरू बाँचेको पीड़ित परिवारका सदस्यहरूले जनाएका छन्। हात्तीको उत्पातबाट एकातिर क्षति अर्कोतिर पानी पसेर गाउँनै जलमग्न बनेको तर न त बन विभाग न त कुनै सरकारी प्रशासनिक अधिकारीहरू क्षेत्रको समस्या बुझ्न कोही नआएको गाउँलेहरूले गुनासो गरेका छन्।