उप-चुनाउः ३१ मार्चसम्म उम्मेद्वारहरूले नामाङकन फिर्ता लिनसक्ने

IMG-20230328-WA0350.jpg

गान्तोक: आगामी २० अप्रेलको दिन हुने उप-चुनाउको निम्ति ग्राम अनि जिल्ला टेरिटोरियल समष्टिका आसनहरूको निम्ति आज कूल १६उम्मेदवारले नामाङ्कन पत्र बुझाए। मतदान अधिकारीहरूद्वारा आज नै उनीहरूको नामाङ्कन पत्र जाँच कार्य पनि गरियो। नामाङ्कन पत्र फिर्ता लिने अन्तिम मिति ३१ मार्च रहेको छ।

प्राप्त जानकारी अनुसार, नाम्ची जिल्लाको तीनवटा ग्राम पञ्चायत वार्डमा उप-चुनाउको निम्ति आज मोठ ८ जना उम्मेदवारले नामाङ्कन पत्र दर्ता गरेका छन् भने पाकिम जिल्लाको एउटा वार्डबाट दुईजनाले अनि गेजिङ जिल्लाको एउटा ग्राम पञ्चायत वार्डबाट एकजना उम्मेदवारले नामाङ्कन पत्र दर्ता गरेका छन्। यसरी नै मंगन जिल्लाका रिक्त जिल्ला टेरिटोरियल अनि ग्राम पञ्चायत वार्डहरूको निम्ति ५ जनाले नामाङ्कन पत्र भरेका छन् जसमध्ये ४ जना जिल्ला अनि एकजना उम्मेदवारले वार्ड पञ्चायतको निम्ति नामाङ्कन बुझाएका छन्।

नाम्ची जिल्लाको तीनवटा वार्ड लोवर गाङयोङ, अप्पर फालीडाँड़ा अनि अप्पर छलमथाङको निम्ति आज मोठ ८ उम्मेदवारले नामङ्कन पत्र पञ्चायत चुनाउ अधिकारीसमक्ष बुझाएका छन्। सिक्किम राज्य विद्युत नियामक आयोगका सचिव एवं उप-चुनाउको निम्ति नाम्ची जिल्लाका चुनाउ पर्यवेक्षक सुश्री कर्मा डोमा योत्सोको उपस्थितिमा उम्मेदवारहरूद्वारा बुझाइएको नामाङ्कन पत्रको जाँच कार्य भयो जसमा सबै आठैजना उम्मेदवारको नामाङ्कन पत्र स्वीकृत गरियो।

यसरी नै पाकिम जिल्लाको लिङ्के पाराखा ग्राम पञ्चायत अन्तर्गत लिङ्के वार्डको उप-चुनाउको निम्ति दुइजना उम्मेदवारले नामाङ्कन पत्र पञ्चायत चुनाउ अधिकारी एवं जिल्लापाल टाशी छोपेल लेप्चाको कार्यालयमा बुझाए जहाँ शहरी विकास विभागका विशेष सचिव एवं चुनाउ पर्यवेक्षक सुश्री रोशनी राईको उपस्थिति रहेको थियो। जाँचपचि दुवै उम्मेदवारको नामाङ्कन पत्र वैध ठहर गर्दै स्वीकृत गरिएको छ।

मंगन जिल्लामा जिल्लापाल एवं चुनाउ अधिकारी हेमकुमार छेत्रीको उपस्थितिमा ग्राम अनि जिल्ला टेरिटोरियल समष्टिहरूको निम्ति उम्मेदवारहरूले नामाङ्कन पत्र बुझाए। मंगनमा जिल्ला टेरिटोरियल समष्टिको उप-चुनाउको निम्ति ४ जना अनि वार्ड पञ्चायतको निम्ति एकजनाले नामाङ्कन पत्र बुझाएका छन्। उनीहरू पाँचैजनाको नामाङ्कन पत्र जाँचपछि स्वीकृत गरिएको छ।

गेजिङ जिल्लाको लोवर तिकज्या वार्डको निम्ति एकजना उम्मेदवारले चुनाउ अधिकारी एवं जिल्लापाल येस्सी डी. योङ्दासमक्ष बुझाएका छन्।

३१ मार्च नामाङ्कन पत्र फिर्ताको अन्तिम मिति रहेको छ भने ती रिक्त वार्ड अनि जिल्ला टेरिटोरियल समष्टिमा आगामी २० अप्रेलको दिन उप-चुनाउ हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement