सिलगढी: जग्गा विवादमा जेठो दाजुको पेटमा छुरा प्रहार गरी कान्छो भाइ फरार भएका छन्। सिलगढी महकुमाको फाँसीदेवा ब्लकको घोषपुकुरको पतिमोहन जोत गाउँमा भएको यो घटनाले इलाकामा त्रासको वातावरण छ। घाइतेको नाम अमुल्य सिंह रहेको छ। दुई दाजुभाइबीच लामो समयदेखि पैतृक सम्पत्तिलाई लिएर विवाद हुँदै आएको छ। मंगलबार फेरि दुई दाजुभाइबीच जग्गाको विषयमा विवाद भएपछि अचानक कान्छो भाइ निर्मल सिंहले जेठाको पेटमा छुरा प्रहार गरेका थिए। उनलाई परिवारका सदस्यले तत्कालै फाँसीदेवा ग्रामीण अस्पताल पुऱ्याएका थिए। तर त्यहाँ प्राथमिक उपचारपछि उनलाई राम्रो उपचारको लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। यसबारे जानकारी पाएलगत्तै फाँसीदेवा घोषपुकुर पुलिस घटनास्थल पुगेको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धानमा जुटेको छ।