खरसाङ: समाज सेवी एवं पर्यटन व्यवसायी स्व तितस लेप्चाको स्मृतिमा प्रदान गर्दै आएको तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार यसपाली खरसाङ महकुमा अन्तर्गत सिटोङ तीनकी प्रार्थना गुरुङलाई प्रदान गरिएको छ। तितस लेप्चा स्मृति पुस्तकालयको आयोजनामा सिटोङ एक डायरी गाउँस्थित गोल घरमा सम्पन्न एक कार्यक्रमबीच दोस्रो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार अलंकरण समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता पूर्व शिक्षक डोनाल्ड सादाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राई उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा स्व तितस लेप्चाको पिता रेभरेन्ट दया छिरिङ लेप्चा, माता चेमित लेप्चा, पत्नी सन्ध्या आचार्य, सिटोङ एक ग्राम पञ्चायतको सचिव देवदत्त प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। आरके छेत्रीले सञ्चालन गरेको कार्यक्रममा तितस लेप्चा स्मृति पुस्तकालयको सभापति बिनिता छेत्रीले स्वागत सम्भाषण एंव स्व तितस लेप्चाको जीवनी पनि पठन गरेका थिए। यसै कार्यक्रममा सिटोङ तीनको प्रसन गुरुङ र इन्दिरा गुरुङकी सुपुत्री प्रार्थना गुरुङलाई दोस्रो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको छ। प्रार्थना गुरुङले वर्ष २०२१-२२ को शैक्षिक सत्रमा सीबीएसई बोर्डको दशौं श्रेणीको परीक्षामा ९७.०८ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएकी थिइन्। प्रार्थना गुरुङ हालमा कोलकोतामा अध्ययनरत् रहेकी कारणले यो पुरस्कार उनको बढ़ा प्रमोद गुरुङले ग्रहण गरेका थिए। उक्त शैक्षिक पुरस्कारस्वरूप अतिथिहरूका बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर सम्मान गरियो भने स्मृति अनि नगगराशि २० हजार पनि प्रदान गरिएको छ। सिटोङ क्षेत्रका समाजसेवी एंव पर्यटन व्यवसायी तितस लेप्चाको २८ मार्च २०२० को दिन निधन भएको थियो। उनको स्मृतिमा परिवार पक्षद्वारा गत वर्षदेखि शिक्षा क्षेत्रमा सिटोङ एक, दुई अनि तीन ग्राम पञ्चायत क्षेत्रबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने मेधावी विद्यार्थीहरूलाई प्रदान गरिन्छ भने यसपाली स्रष्टा पुरस्कार स्थगित गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईले तितस लेप्चाको जीवनी प्रकाशित गरेको खण्डमा सहयोग गर्ने साथै तितस लेप्चा स्मृति पुस्तकालयको लागि केही दिनभित्रमा विभिन्न प्रकारका पुस्तकहरू उपलब्ध गराउने वचन दिएका छन्। उनले तितस लेप्चाले देखाएको बाटोमा नै हामी सबैजना हिँड़िरहेको पनि बताएका छन्। कार्यक्रममा सभाध्यक्ष डोनाल्ड सादा, पुस्तकालयको पक्षमा एल्डर युनस लेप्चा, सिटोङ डायरी गाउँ प्राथमिक पाठशालाकी प्रधान अध्यापिका रुफिना कार्थकले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा सञ्जीव छेत्रीले विद्यार्थी प्रार्थना गुरुङले प्रेषित गरेका पत्र पठन गरेका थिए भने धन्यवाद ज्ञापन पनि राखेका थिए। कार्यक्रममा सिटोङ क्षेत्रका मानिसहरू उपस्थित रहेका थिए। दोस्रो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पुस्तकालयको सभापति बिनिता छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।