गान्तोक: आगामी दिनमा पालन गरिने राज्यस्तरीय बैशाखी पर्व तयारीलाई लिएर दोस्रो समन्वय सभा नाम्चीस्थित एक होटलमा सम्पन्न भयो। यस अवसरमा आगामी दिनमा पालन गरिने राज्यस्तरयी बैशाखी पर्व तयारीबारे छलफल गर्दै कार्यक्रमलाई सफल तुल्याउनको निम्ति धेरै जनालाई समितिमा सदस्यकोरूपमा मनोनित गरियो। दुई दिवसीय बैशाखी पर्व आगामी १४-१५ अप्रेलको दिन भव्यरूपमा आयोजना गरिने छ भने उक्त अवसरमा विभिन्न राज्यको परम्परा, संस्कृतिलाई लिएर कलाकारहरूले प्रदर्शन गर्नेछन्। सो कार्यक्रममा हातद्वारा निर्मित पारम्पारिक सामग्रीहरू प्रदर्शनीको निम्ति स्टल बनाएर राखिने भएको छ। समितिका सदस्यहरुले कार्यक्रमलाई सुचारु रुपमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्था मिलाइने र कार्यक्रममा सबैलाई स्वागत गर्न तत्पर रहेको बताए।
यस राज्यस्तरीय महोत्सवमा विभिन्न स्थानबाट पर्यटकहरू आउने र उनीहरूलाई आकर्षित तुल्याउने सबै प्रकारको व्यवस्था सदस्यहरूले मिलाउनु पर्ने विषयमा छलफल गरिएको छ। आजको यस सभामा भवन तथा आवास विभागका अध्यक्ष टाशी दोर्जी भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।