खरसाङः स्वर्ण वर्षमा प्रवेश गरेको खरसाङको नाट्य संस्था जागृति परिवारले विश्व रंगमञ्च दिवसको अवसरमा आउँदो ९ अप्रेलमा सामाजिक जनचेतनामूलक सडक नाटक प्रदर्शन गर्ने भएको छ। सोमबार (२७ मार्च) विश्व रंगमञ्च दिवसको शुभ अवसरमा उक्त निर्णय लिइएको हो। विश्व रंगमञ्च दिवसको अवसरमा आज जागृति परिवारको निजी भवनमा सदस्यहरूको विशेष सभा भएको थियो। यस अवसरमा नाटकको नयाँ ढाँचा र विकासको बारेमा चर्चा गरियो। परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न भएको सभामा सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’ ले विश्व नाटक दिवसको महत्व र नाटक बारेमा चर्चा गरे।
आज विश्व नाटक दिवसको अवसरमा सडक नाटक गर्न सम्भव भएन। यस कारण आउँदो ९ अप्रेलमा सडक नाटक गर्ने निर्णय लिएको हो। यसका साथै यस वर्ष परिवारले स्वर्ण वर्ष भव्यरुपमा पालन गर्नका लागि कार्यक्रमहरूको बारेमा छलफल गरेको छ। खरसाङमा नाटक गर्नका लागि हल नभएको हुँदा यसको लागि समस्या जटिल बनेको छ। जसले गर्दा यहाँका स्थानीय युवा प्रतिभाहरू आफ्नो प्रतिभा प्रदर्शन गर्नबाट वञ्चित भइरहेका छन्। सभामा यसबारेमा पनि चर्चा गरियो। जागृति परिवारले सन् १९७३ मा स्थापना भएदेखि तीन दर्जनभन्दा बढी नाटकहरु विभिन्न ठाउँहरू लगायत छिमेकी राष्ट्र नेपालमा पनि मञ्चन गरिसकेको छ। नाटककार पूर्ण गुरुङ ‘निरुपम’द्वारा लिखित अनि निर्देशित ‘बन्धकी राखिएको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘कुन क्षितिजतिर’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’जस्ता कलात्मक नाटकहरू सफलतापूर्वक मञ्चन गरिसकेको छ। ‘बन्धकी राखिएको सिन्दूर’ नेपालको राजधानी काठमाडौंमा पनि सफलतापूर्वक मञ्चन भएर लोकप्रिय बनेको थियो।