खरसाङ: खरसाङ कलेजमा दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ।
आईसीएसएसआर र खरसाङ कलेजको राजनीति शास्त्र विभागको संयुक्त प्रायोजनामा ‘बोडर्स् एण्ड बाउण्ड्रिज:इण्डिया एण्ड इट्स नेबर्स्’ विषयमा दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भयो। प्राचार्य डा समीर बलको अध्यक्षतामा सम्पन्न भएको सङ्गोष्ठीको उद्घाटन सत्रमा उत्तर बङ्ग विश्वविद्यालयका उपकुलपति प्रोफेसर ओमप्रकाश मिश्रा, विशिष्ट अतिथि डा. राजेन्द्रप्रसाद ढकाल भू. पू. प्राचार्य कालेबुङ कलेज उपस्थित थिए । यस सत्रमा खरसाङ कलेज राजनीतिशास्त्र विभागका प्रमुख डा. उपेन्द्र अधिकारी सहायक प्राध्यापकले स्वागत सम्बोधन गरेका थिए भने उत्तर बङ्ग विश्वविद्यालयका उपकुलपति प्रोफेसर ओमप्रकाश मिश्रा अनि डा. राजेन्द्रप्रसाद ढकालले सारगर्भित व्यक्तत्व राखेका थिए। यस सङ्गोष्ठीका मुख्य आकर्षण प्रोफेसर मनीष डीन, सामाजिक विज्ञान सङ्काय गुजुरात केन्द्रीय विश्वविद्यालय रहेका थिए। प्रोफेसर मनीषले सङ्गोष्ठीको बीज भाषण खुबै रोचक रूपमा प्रस्तुत गरे। प्राचार्य डा. समीर बलको अध्यक्षीय सम्बोधनपछि सोही विभागका सहप्राध्यापक डा. कर्म ल्हामुले धन्यवाद ज्ञापन गरी उद्घाटन सत्रको समापन गरे।
उद्घाटन सत्रको समापनपछि मूल सङ्गोष्ठी आरम्भ गरियो। सङ्गोष्ठीको पहिलो दिन जम्मा १९ वटा कार्यपत्रहरू र तिनका प्रस्तोताहरू भेला भएका थिए। समानान्तर सत्रको आयोजनमा प्रपत्रहरू प्रस्तुत गरिए। भिन्ना-भिन्न थिम वा विषयमा उक्त सत्रलाई विभाजन गरिएका थिए। ‘बोडर्स् एण्ड बाउण्ड्रिज कोलोनिअल एण्ड पोस्ट कोलोनिअल पर्स्पेक्टिव’ थिमका सत्राध्यक्ष प्रोफेसर मनीषले गरेका थिए। यसमा पाँचजना प्रस्तोताहरू रहेका थिए। प्राध्यापक जेलीना प्रधान प्रतिवेदक थिए। पहिलो दिनको दोस्रो सत्रको मूल विषय ‘डिभेलोप्मेण्ट अभ् द इण्डियन नैभरहुड पोलिसी’ का सत्राध्यक्ष डा. बिमल खवास, सहायक प्राध्यापक सिक्किम विश्वविद्यालय थिए। यस सत्रमा जम्मा पाँचवटा पप्रत्र प्रस्तुत गरिए। यस सत्रको प्रतिवेदक डा. दाहिरा भट्ट थिए। तेस्रो सत्रको विषय ‘टेरिटोरिअल एण्ड सोसिअल बोडर’ थियो। यस विषयसित सम्बन्धित पाँचवटा कार्यपत्रहरू एवम् सम्बन्धित विषयमा आधारित अन्तरक्रिया प्रस्तुत गरिए भने यस सत्रका अध्यक्ष प्राध्यापक गङ्गाप्रसाद शर्मा, खरसाङ कलेज नेपाली विभाग थिए। पहिलो दिनको अन्तिम चौथो सत्राध्यक्ष डा. न्यूटनले गरेका थिए। यस सत्रका मुख्य थिम ‘Cultural Syncretism in cross-border’ रहेको थियो। डा. उपेन्द्र अधिकारीले यस सत्रको प्रतिवेदकको भार सम्भालेका थिए। दोस्रो दिनको सत्रमा जम्मा १८ वटा पपत्रहरू प्रस्तुत गरिएका थिए। समयको कमीका कारण दोस्रो दिन भिन्ना-भिन्नै तीनवटा कक्षमा समानन्तर सत्रका रूपमा सङ्गोष्ठीको आयोजन गरिएको थियो। दोस्रो दिनको पहिलो सत्रको मूल विषय ‘Politics of Border and Margin’ थियो। यस सत्रको अध्यक्ष डा. विधान गोले, सहप्राध्यापक सिक्किम विश्वविद्यालय थिए भने यस सत्रमा जम्मा पाँचजना प्रस्तोताहरू थिए। प्राध्यापक जेलीना प्रधानले प्रतिवेदकका भार ग्रहण गरेका थिए। दोस्रो दिनको समानन्तर सत्रको सत्राध्यक्ष प्राध्यापक पालजोर तामाङ, सलेशियन कलेज थिए। यस सत्रको मूल थिम ‘Border and Trade’ थियो। यस सत्रमा जम्मा पाँचवटा कार्यपत्रहरू प्रस्तुत गरिए भने प्रतिवेदकको भार प्राध्यापक नम्रता राईले ग्रहण गरेका थिए। यसै सत्रको अर्को मूल विषय ‘Border Security and Migration Governance’ थियो। यस सत्रका अध्यक्ष विजय थापा थिए। प्राध्यापक ताहिरा भट्ट प्रतिवेदक थिए। यस सत्रमा जम्मा आठवटा पप्रत्रहरू प्रस्तुत गरिए। दुई दिवसीय सङ्गोष्ठीको समापन सत्रको अध्यक्षता प्राचार्य डा. समीर बलले गरेका थिए भने समापन सत्रका मुख्य वक्ता डा. पदम नेपाल, सहायक प्राध्यापक सन्त जोसेफ्स कलेज थिए। अतिथिहरूलाई कलेजको तर्फबाट प्राचार्यले अन्त्यमा फूलमाला र मोमेन्टोसहित उपहार प्रदान गरी सङ्गोष्ठीको समापन गरियो। पहिलो र दोस्रो दुवै दिनका सङ्गोष्ठी सभालाई प्राध्यापक सुदर्शना प्रधानले सञ्चालन गरेका थिए।

सङ्गोष्ठीमा दार्जिलिङ, सिक्किम, गुजुरात, दिल्ली आदि विभिन्न क्षेत्रबाट महाविद्यालय, विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै प्रस्तोताहरू भेला भएका थिए भने स्थानीय महाविद्यालयका अनर्सका विद्यार्थीहरूले पनि कार्यपत्र प्रस्तुत गरेका थिए। सङ्गोष्ठीको मूल संयोजक राजनीतिशास्त्र विभागका प्राध्यापक डा. अनिल रज्जकले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक वर्ग र कलेजका सबै प्राध्यापक साथै विद्यार्थीलाई धन्यवाद चढाए।