विश्व रंगमञ्च दिवस: जागृति परिवारमा नाटकबारे चर्चा

विश्व रंगमञ्च दिवसको अवसरमा भेला भएका जागृति परिवारका सदस्यहरु l

 ९ अप्रेलमा सामाजिक जनचेतनामूलक सडक नाटक खरसाङमा गरिने

खरसाङ: स्वर्ण वर्षमा प्रवेश गरेको खरसाङको नाट्य संस्था जागृति परिवारले विश्व रंगमञ्च दिवसको अवसरमा आउँदो महिना ९ अप्रेलमा सामाजिक जनचेतनामूलक सडक नाटक प्रदर्शन गर्ने भएको छl सोमबार (२७ मार्च) विश्व रंगमञ्च दिवसको शुभअवसरमा यो निर्णय गरेको होl विश्व रंगमञ्च दिवसको अवसरमा आज जागृति परिवारको निजी भवनमा सदस्यहरूको विशेष सभा भएको थियोl यस अवसरमा नाटकको नयाँ ढाँचा र विकास बारेमा चर्चा गरियोl परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न भएको सभामा सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’ले विश्व नाटक दिवसको महत्व र नाटक बारेमा चर्चा गरेl आज विश्व नाटक दिवसको अवसरमा सडक नाटक गर्न विशेष कारणले सम्भव भएनl यसले गर्दा आउँदो महिना ९ अप्रेलमा सडक नाटक गर्ने निर्णय लिएको होl यसका साथै यस वर्ष परिवारले स्वर्ण वर्ष भव्य रुपमा पालन गर्नका लागि कार्यक्रमहरू बारे छलफल गरियोl

खरसाङमा नाटक गर्नका लागि हल नभएको हुँदा यसको लागि समस्या जटिल बनेको छl जसले गर्दा यहाँका स्थानीय युवा प्रतिभाहरू आफ्नो प्रतिभा प्रदर्शन गर्नबाट वन्चित भइरहेका छन्l सभामा यसबारेमा पनि चर्चा गरियोl जागृति परिवारले सन् १९७३ मा स्थापना भएदेखि तीन दर्जनभन्दा बढी नाटकहरु विभिन्न ठाउँहरू लगायत छिमेकी राष्ट्र नेपालमा पनि मञ्चन  गरिसकेको छl नाटककार पूर्ण गुरुङ ‘निरुपम’द्वारा लिखित अनि निर्देशित ‘बन्धकी राखिएको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘कुन क्षितिजतिर’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’जस्ता कलात्मक नाटकहरू सफलतापूर्वक मञ्चन गरिसकेको छl ‘बन्धकी राखिएको सिन्दूर’ नेपालको राजधानी काठमाडौंमा पनि सफलतापूर्वक मञ्चन भएर लोकप्रिय बनेको थियोl

विश्व रंगमञ्च दिवसको पृष्ठभूमि

विश्व रंगमञ्च दिवस, जसलाई डब्ल्युटीडी (वर्ल्ड थिएटर डे) पनि भनिन्छ, सन् १९६१ मा इन्टरनेशनल थिएटर इन्स्टिच्युट (आईटीआई)द्वारा शुरु गरिएको थियो। स्थापना भएदेखि नै, अन्तर्राष्ट्रिय थिएटर समुदायसँगै विश्वभरका आईटीआई केन्द्रहरूले प्रत्येक वर्ष २७ मार्चमा यो दिवस मनाउने गर्दछन्। विश्वभरका थिएटरहरूले यस दिनलाई अविस्मरणीय बनाउन कार्यक्रमहरू आयोजना गर्छन्। यस्तो कार्यक्रममा, रंगमञ्चमा आफ्नो कामका लागि परिचित एक थिएटर व्यक्तित्वले आईटीआईहरूको निमन्त्रणामा विश्व रंगमञ्च दिवस अन्तर्राष्ट्रिय सन्देश साझा र प्रसारण गर्दछ। सन्देशमा, उनीहरूले थिएटरको विषयवस्तु, शान्तिको संस्कृतिका साथ आफ्ना अनुभवहरू साझा गर्छन्।

पहिलो विश्व रंगमञ्च दिवसको अन्तर्राष्ट्रिय सन्देश सन् १९६२ मा फ्रान्सका जीन कोक्टोले लेखेका थिए। त्यस वर्षदेखि, आईटीआई केन्द्रहरू, जसको संख्या विश्वभरि ९० भन्दा बढी छ, थिएटर पेशेवरहरू, कलाकारहरू, प्रेमीहरू, स्कूलहरू, इत्यादिसँगै यो दिवस मनाउँछन्। अन्तर्राष्ट्रिय सन्देश ५० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ, थिएटरमा प्रदर्शन शुरु हुनु अघि हजारौं मानिसहरूलाई पढाइन्छ र धेरै दैनिक समाचार पत्रहरूमा पनि चित्रित गरिन्छ। साथै, रेडियो र टेलिभिजन च्यानलहरूले दर्शक र श्रोताहरूलाई सन्देशहरू प्रसारण गर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement