२७ मार्चः यूएफा यूरो कप २०२४-को क्वालीफाइंग राउण्डमा पोर्तुगल, इटली र ईंग्ल्याण्डले आइतवार राति आ-आफ्नो म्याच जित्यो। पोर्तुगलले ग्रुप जे-मा लक्समबर्गलाई ६-०-ले पिट्यो। लक्समबर्ग स्टेडियममा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगल मध्यान्तर अघि नै ४ गोलले अघि रहेको थियो। विजेता टीमबाट स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले नवौं र ३१औं मिनटमा २ गोल गरे। यसबाहेक जोआओ फेलिक्सले १५औं, बर्नार्डो सिल्वाले १८औं, ओटावियोले ७७औं अनि पेनल्टी गुमाउने राफाएल लिएओले ८८औं मिनटमा गोल गरे। लगातार दुईवटा जीतको साथ पोर्तुगल ६ पोइण्ट लिएर ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। यस ग्रुपमा स्लोवाकियाले बोस्निया एण्ड हर्जेगोविना विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यसरी नै आइसल्याण्डले लिचटेन्सटिनलाई ७-०-ले पिट्यो। विजेता टीमबाट एरोन गुनारसनले ह्याट्रिक गरे। म्याचको मध्यान्तरम्म २ गोलले अघि रहने आइसल्याण्डले दोस्रो हाफमा थप ५ गोल गऱ्यो।

यसरी नै ग्रुप सी-मा ईंग्ल्याण्डले युक्रेनलाई २-०-ले पराजित गऱ्यो। म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने ईंगल्याण्डबाट ह्यारी केनले ३७औं र बुकायो साकाले ४०औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा इटलीले माल्टा विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। इटलीबाट मातेओ रेटेगुईले १५औं अनि मातेओ पेसिनाले २७औं मिनटमा गोल गरे। ग्रुप एच-मा चाहिँ डेनमार्कले कजाखस्तान विरुद्ध रोमाञ्चक म्याचमा ३-२-ले हारको सामना गर्नु पऱ्यो। म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने डेनमार्क मध्यान्तरसम्म त २-०-ले अघि रहेको थियो तर दोस्रो हाफको खेलमा कजाखस्तानले असाधारण पुनरागमन गर्दै ३ गोल छिराएर यादगार जीत हासिल गऱ्यो। ग्रुप एच-मा स्लोवेनियाले सान मारिनोलाई २-०-ले पराजित गऱ्यो।