कालेबुङ: पहाडलाई आर्थिक रूपमा ध्वस्त बनाउने भाजपाको सुनियोजित षड्यन्त्रलाई राजु विष्टले कार्यमा परिणत गर्दैछन् भनी कालेबुङका विधायक रुदेन सादा लेप्चाले बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कालेबुङ जिल्ला समितिले आयोजना गरेको कर्मी सभामा कालेबुङका विधायक रुदेन सादा सांसद राजु विष्टमाथि गर्जिए। उनले भने, ” पहाडलाई आर्थिक रूपमा गरीबभन्दा गरीब बनाउनु अनि पहाडको सबै योजनाहरुलाई बन्द गर्ने भाजपाको सुनियोजित षड्यन्त्र चल्दैछ। यो षड्यन्त्रलाई सांसद राजु विष्टले विस्तारै कार्यमा परिणत गर्दैछन्।”
उनले विष्टलाई पढेका भए पनि बुद्धि नभएको सांसद हुन् भन्दै भने, “मनरेगा बन्द गर्यौ। यदि धाँधली भएको छ भने छानबीन हुनुपर्छ। छानबीन गर्ने एउटा तरिका हुन्छ। तर पैसा नै रोकिदिनु कहाँको न्याय संगत हो? राष्ट्रवादमाथि भाजपाले राजनीति गर्छ। के यही नै हो राष्ट्रवाद?”
उनले थप भने, “हामीले अदानीको बारीमा फलेको आइफल मागेका छैनौं। हामीले तिरेको ट्याक्सको पैसा माग्दैछौं।”
स्मरण रहोस केही समय अघि रुदेन सादाले नै सय दिनको रोजगारको पैसा रोक्ने राजु विष्ट हुन् भनी आरोप लगाएका थिए। हिजो राजु विष्टले पनि पैसा रोकेको स्वीकार गरे। मेरोमा राजु विष्टले पैसा रोकेको प्रमाण छ भनेर विष्टलाई थाहा थियो। त्यसैले हिजो उसले यो कुरालाई सार्वजनिक रूपमा स्वीकार पनि गरे भन्दै उनले भने, ” आजसम्म पहाडले पाएको सांसदहरुमध्ये पहाडको निम्ति श्रापित सांसद चाहिँ राजु विष्ट नै हुन्। विमल गुरुङलाई भाजपाले नै सक्यो। पहाडको जनताले आज पनि भाजपाको षड्यन्त्र बुझ्नु सकेन भने पहाडलाई भाजपाले खतम नै पारेर छाड्छ।”
यसै कार्यक्रमलाई आफ्नो सम्बोधनमा राख्दै अधिवक्ता डीके प्रधानले विपक्षीले पर्जा पट्टा विषय अफवाह फैलाएको भन्ने आरोप लगाउँदै भने,”पट्टा फेक हो, शरणार्थीलाई दिने पट्टा हो भनेर किन विरोधी दलहरुले भन्दैछ? विरोधी दलहरु अत्तालिएका छन्। उनीहरूलाई थाहा छ कि पट्टा सक्कली हो भनेर। तर उनीहरूको राजनैतिक दोकान बन्द हुनु आँटेको छ। त्यसैले हामी माथि यस्तो झुटो लान्छना लगाउँदैछन।”
आजको कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चाका पदम छेत्री अनि अन्य 15 युवा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। उनीहरूलाई रूदेन सादा लेप्चा, विधायक अनि सिनोरा नाम्चु, सभासदले पार्टीकाे झण्डा थमाएर पार्टीमा स्वागत जनाए।