तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको निधन

photocollage_2023326211335691.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री पितृ शोकमा परेका छन्। राष्ट्रीय शिक्षक पुरस्कार प्रापक पिता हरिप्रसाद छेत्रीको आज राती लगभग ८ बज्न लाग्दा निधन भएको छ। उनी ८० वर्ष पुगेका थिए। उनी केही वर्षदेखि यता किड्नी र सुगर जस्ता रोगले ग्रसित थिए। हरिप्रसाद छेत्रीको सिलगढीमा उपचार चलिरहेको थियो भने केही दिनदेखि उनी तीनधारेको रेलवे अस्पतालमा उपचाराधीन अवस्थामा रहेका थिए। तीनधारे क्षेत्रका सामाजिक व्यक्तित्व, पूर्व शिक्षक तथा तीनधारेको अभिभावक हरिप्रसाद छेत्रीले आफुपछि पत्नी धनकुमारी छेत्री, तीन छोराहरू क्रमैले बशिष्टराज छेत्री, नवराज छेत्री (सभासद) र सुकराज छेत्री, बुहारीहरू, नाता नातिनीहरु छोडी गएका छन्। उनको अन्तिम संस्कार भोलि सोमबार दिउँसो १ बजेदेखि तीनधारेको गोलाई पाखास्थित घरबाट निकालिने जानकारी प्राप्त भएको छ। हरिप्रसाद छेत्रीको जन्म १५ दिसम्बर १९४३ मा भएको थियो। उनले आफ्नो शिक्षण पेशा घैयाबारी जुनियर हाई स्कूल र मानेडाँडा स्कूलबाट गरेका थिए। उनले तीनधारे हाई स्कूल र सन् १०७९ मा लामाहट्टा उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्य गरेका थिए। उनी लामाहट्टा उच्चत्तर माध्यमिक विद्यालयबाट प्रधान अध्यापकको रूपमा कार्य गरेर २००५ मा अवकाशप्राप्त भएका थिए। उनलाई वर्ष २००२ मा देशको राष्ट्रपतिको बाहुलीबाट राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरिएको थियो। हरिप्रसाद छेत्रीले तीनधारे क्षेत्रको विभिन्न संघ संस्थाहरूमा आबध्द रहेर विभिन्न सामाजिक कार्यहरू गरेका थिए। उनले एनएच ५५ अन्तर्गत तीनधारेमा गएको पैह्रो मरमत्तिको लागि गठित सामाजिक संस्थामा सभापतिको रूपमा काम गर्दै पैह्रो मरमत्तिको लागि पनि भूमिका निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement