गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज तादोङ पाँच माइलस्थित पुननिर्मित सरस्वती डोल्मा मन्दिरको उद्घाटन गरे। यस मन्दिरको शिलान्यास पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीले वर्ष १९८५ मा गरेका थिए भने यसको उद्घाटन १९८७ मा स्व.भण्डारीले नै गरेका हुन्। एक करोड रूपियाँको लागतमा यस मन्दिरको पुनर्निर्माण गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले पूर्व सरकारले ३५ वर्षसम्म जीर्ण अवस्थामा हुँदा पनि यस मन्दिरको मरम्म्त गर्न कुनै चासो नराखेको बताए। तर वर्तमान क्षेत्र विधायक जीटी ढुङ्गेलको पहलमा यस मन्दिरले नयाँ रूप पाउन सकेकोमा उनले सम्पूर्ण तादोङ निर्वाचन क्षेत्रका मानिसहरूलाई बधाई दिए।
एक सक्रिय विधायकले आफ्नो क्षेत्रमा राम्रो विकासका कामहरू गर्न सक्ने उदाहरण विधायक ढुङ्गेलले गरेर देखाएकोमा उनले खुशी प्रकट गरे। यस निर्वाचन क्षेत्रका जनताले जीटी ढुङ्गेल जस्तो सक्रिय नेता पाएको हुनाले यहाँ विकसका धेरै कामहरू भएको अवगत गराए। वर्तमान सरकारले छोटो अवधिमा धेरै विकासका कामहरू गरेको उनले किटान गरे। सरकारले महिलाहरूलाई सम्मान दिनको निम्ति आमा- बहिनी जस्ता योजना शुरू गरेको बताउँदै प्रत्येक आमाहरूलाई सरकारकोतर्फबाट २० हजार गरेर प्रदान गरेको जनाए। राज्यभरिका १६ सय आमाहरूले अहिलेसम्म यस योजनाको लाभ उठाउन सक्षम बनेको उनले जानकारी गराए। भविष्य अझ धेरै जना आमाहरूलाई यस योजना अन्तर्गत आर्थिक राशि प्रदान गरिने मुख्यमन्त्री तामाङले आज घोषणा गरे।

उनले वर्तमान समयमा देखिएको ट्राफिक समस्यालाई समाधान गर्न लुम्सेमा मिनी सचिवालय बनाउने घोषणा गरे भने यसको निम्ति सरकारले २ सय ३२ करोड धनराशि पनि छुट्टाइसकेको बताए। उनले वर्तमान सरकार जनताप्रति समर्पित रहेको हुनाले सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको कलंक २८ दिन भित्रमा हटाएर एक उदाहरणीय कार्य गरेको बताए। कार्यक्रमलाई क्षेत्र विधायक जीटी ढुङ्गेल, शहरी विकास विभागका सचिव एमटी शेर्पा लगायत मुख्य अभियन्ताले पनि सम्बोधन गरेका थिए।