सिलगढी: मार्च २५ महीनाको अन्तिम शनिबारको दिन शब्द समय सालबारीको ११६औं प्रकरण स्थानीय सयपत्री संघ भवनमा सम्पन्न भयो। प्रथममा वरिष्ठ कवि मोहन ठकुरीले सबैलाई सम्बोधन गरे। यस अवसरमा कवि ठकुरीले कवि सुधा एम, राईद्वारा अनुवाद गरिएका भारतीय कविका कविताहरूबाट कवि चन्द्रकान्तका अनुवादित सुन्दर कविता पठन गरेर सुनाए। यस्पल्ट पनि शब्द समयले वरिष्ठ कवि नोर्जाङ स्याङ्देनको उपस्थिति पाएको थियो। कवि स्याङ्देनले रचना पठनको क्रममा ‘नामहरू’ शीर्षकको आफ्नो सुन्दर कविता पाठ गरेर सुनाए। नवोदित कवि प्रशिल शर्माले यस अवसरमा कविता सुनाए, उंस्को कविताको शीर्षक थियो ‘आमा’। कवि हेमन्त काफ्लेले शीर्षकबिहिन कविता सुनाए पनि उनको कविताले फेसबुकको विषय बोकेको थियो। युग्मककार कालूसिंह रनपहेंलीले केही युग्मकहरूसित ‘वसन्तका दिनहरू’ शीर्षकको कविता सुनाएका थिए। कथाकार-अनुवादक जीतबहादुर सुनारले ‘अधूरो प्रायश्चित’ शीर्षक कथा सुनाए। कथाकार मणिकुमार प्रधानले खलील जिब्रानका दुई अनुदित लघु कथाहरू सुनाएपछि आफ्नो बुकुने कथा पनि पाठ गरे। कवि कृष्ण प्रधान ‘अर्पण’=ले ‘कविको चिन्ता कवितामा’ शीर्षक लिएको स्वरचित कविता पठन गरे। रम्भास कवि भनेर नाम कमाएका कवि लीलहादुर सुनारले यसपल्ट मुक्तकसित केही स्वरचित युग्मकहरू र हाइकूहरू सुनाए। अवकाशप्राप्त कप्तान महेश कुमार सुब्बाले हास्यव्यङ्ग्य कविता ‘बुडाबुडी’ सुनाए। शब्द समयका सक्रीय सदस्य वरिष्ठ समाजसेवी पूर्ण मंगरले पनि हास्य रसको कविता ‘कति अचम्भको छ यो दुनियाँ’ सुनाएर हास्यरस स्रोताहरूमा बाँडे। अवकाशप्राप्त डीएसपी निर्मल सिन्चुरीले ‘सङ्घर्ष’ र ‘जीवनरेखा’ शीर्षकमा दुई कविताहरू वाचन गरे। वरिष्ठ कवि गङ्गा प्रधानले ‘उसैको लेख उसैको कथा’ स्गीर्षकको कथा पाठ गरेका थिए। कथाकार सुवास छेत्रीले आफ्नो कथा ‘स्वतन्त्रता’ वाचन गरे। कवि देविका मंग्राती राईले ‘समाचारको युद्ध’ शीर्षकमा नारी शक्तिलाई उजागार गर्दै लेखिएको कविता सुनाइन् भने कवि मोनिका प्रधानले ‘सम्झना’ शीर्षकको कविता सुनाइन्। वरिष्ठ कवि-चिन्तक- अध्येता ज्ञानेन्द्र खतिवडाले यस अवसरमा केही कुराहरू राखे। आज आदरणीय वरिष्ठ साहित्यकार नरबहादुर दाहाल आफ्नो अस्वस्थ्यताले डाक्टरकहाँ जान परेकाले उपस्थित हुन नसकेका सूचना सबैलाई दिए। उनले आउँदो ३० मार्चको दिन शब्द समयका वरिष्ठ सदस्य एडोन रोंगोंग महोदयको कविता सङ्रग्रह ‘सीमादेखि सीमासम्म’ बुक-आन्ट परिसरमा लोकार्पण हुने सुचना पनि साबैलाई साझा गरे। कवि खतिवडाले भने, ‘हालै दिङ्गत बनेका नेपाली चलचित्र जगतका महान हस्ती प्रताप सुब्बा अनि वरिष्ठ कथाकार उदय सुब्बा गोर्खाको निधनमा शब्द समय गहिरो शोक प्रकट गर्दछ।’ कवि खतिवडाले उनीहरूमाथि केही कुरा राखेपछि उपस्थित सबै सदस्यहरूले दुई मिनटको मौन धारण गरेर दिवङ्गत विभूतिहरूका चिर आत्मशान्तिको प्रार्थना गर्दै श्रद्धाञ्जली चढाए। सम्पूर्ण कार्यक्रमलाई वरिष्ठ कवि-कथाकार खडकराज गिरीले खुबै सुन्दर ढङ्गमा सञ्चालन गरेका थिए। शब्द समयको यस प्रकरणमा प्रसिद्ध गायक अनि अभिनेता बद्री खरेल, शब्द समयकी वरिष्ठ सदस्या नीरू शर्मा, ओनलाइन समाचार पत्र ‘दार्जीलिङ टक्स’-का सम्पादक शैलेन्द्र समदर्शी, डम्बरसिंह भारद्वाज, मनोहर सिंह आदिको विशेष उपस्थिति रहेको थियो।