पुस्तकालयद्वारा सुम्पियो विभिन्न मांगमा ज्ञापन पत्र
खरसाङ: जीटीएको ऊर्जा अनि बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय भवनको निरीक्षण गरेका छन्। यसावधि उनलाई गोर्खा जनपुस्ताकालयको पक्षबाट ज्ञापन पत्र बुझाएको छ। गोर्खा जनपुस्ताकालयमा निरीक्षणको लागि आएका सभासद प्रणाम रसाइलीलाई अध्ययन कक्षमा सम्पन्न एक कार्यक्रमबीच स्वागत जनाइएको छ।

यस अवसरमा सम्पन्न भेटघाट कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको वर्तमान अध्यक्ष पूर्ण गुरुङ निरुपमको बाहुलीबाट पुस्तकालयको पक्षबाट खदार्पणसहित तीनबुँदे ज्ञापन पत्र बुझाएका छन्। जीटीएको उर्जा एवं बागवानी विभागको एमओडी सभासद प्रणाम रसाईलीलाई खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरण, उद्यान परिसरमा बिजुली बत्तीको जड़ान र गोर्खा जनपुस्ताकालय भवनको जीर्णावस्थाको मरमत्तिको लागि ज्ञापन सुम्पेका छन्। पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको सानो कार्यक्रममा जीटीएको सभासद प्रणाम रसाइलीले पुस्तकालयको सबै पदाधिकारीहरूलाई खदार्पण गरी सम्मान जनाएका थिए। यस भेटघाटको क्रममा भएको सानो कार्यक्रममा पुस्तकालयको पक्षबाट वरिष्ठ सदस्य तिलक शर्मा, अध्यक्ष पूर्ण गुरुङ निरुपम, सचिव विनोद रसाइली, उपाध्यक्षद्वय ऋषि राई र प्रकाश प्रधान, पूर्व अध्यक्ष रबीन कुमार प्रधान आदिले जीटीएको सभासद समक्ष विभिन्न मांगहरू राख्दै वक्तव्य दिएका थिए। यस क्रममा पुस्तकालयको पक्षबाट केही पुस्तकहरू पनि सभासद समक्ष भेटस्वरूप प्रदान गरिएको छ।

पुस्तकालयको ज्ञापन पत्रपछि सभासद प्रणाम रसाइलीले पुस्तकालय भारतीय गोर्खाहरूको पुरानो संस्था रहेकोले यहाँ आउनु पाउनु गर्वको कुरा रहेको बताउँदै पुस्तकालयको मांगहरू पूरा गरिदिने वचन दिएका छन्। यसावधि सभासद प्रणाम रसाइलीले अध्ययन कक्ष लगायत पुस्तकालयको कार्यालय, पारसमणि प्रधान प्रेक्षागृह, अतिथिशालय र अन्य कक्षहरूका पनि निरीक्षण गरेका थिए। सभासद प्रणाम रसाईलीको पुस्तकालय भ्रमण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।