गान्तोकः जोरथाङस्थित जोनल एसडीएफ पार्टी कार्यलयमा पश्चिम र दक्षिण जिल्ला कार्यकारिणी समितिको संयुक्त समन्वय सभा सम्पन्न भयो। प्रशासनिक मामिलाका वरिष्ठ उपाध्यक्ष के.टी. ग्याल्छेनको अध्यक्षतामा सम्पन्न आजको सभामा पार्टीका वरिष्ठ नेतागणलगायत दुवै जिल्लाका पदाधिकारीहरूले उपस्थित जनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पार्टीको भावी कार्यक्रमहरूबारे गहन बहस भएपछि समन्वय सभाले विभिन्न निर्णय लिएको बताइएको छ। आजको निर्णयले मूल रूपमा पार्टी सङ्गठन विस्तारलाई प्राथमिकता दिइएको छ। राज्यका प्रत्येक वार्डका जनताको जीवन स्तरको जायजा लिँदै संवाद गर्ने तथा पार्टीको नीति सिद्धान्त र नेताको जनमुखी दर्शनलाई जनतासमक्ष पुऱ्याउने सभाले विशेष निर्णय लियो। अध्यक्षीय सम्बोधनमा ग्याल्छेनले एसडीएफ पार्टीको सङ्कटकालीन अवस्थामा पनि पार्टी कार्यकर्ताहरू सैद्धान्तिक रूपमा एकबद्ध छन् भन्दै यो एसडीएफ पार्टीको असरल नीति र पार्टी अध्यक्ष पवन चामलिङको अब्बल नेतृत्वको परिणामले भएको बताए।
उनले पार्टीको सैद्धान्तिक आधारमा लेखिएको विभिन्न पुस्तकहरू पढ्नु पर्ने तथा एसडीएफ पार्टी के हो र पार्टीप्रतिको कार्यकर्ताहरूको जिम्मेवारीजस्ता गहन विषयलाई बुझ्नु आजको परिस्थितिमा अनिवार्य रहेको मन्तव्य प्रकट गरे। उनले एसडीएफ पार्टीमा पवन चामलिङजस्ता एकजना अनुभावी र विज्ञ नेता रहेको बताउॅंदै उनको नेतृत्वमा सिक्किमलाई बचाउनका निम्ति २०२४ को चुनाउमा एसडीएफ पार्टीलाई जिताउनु पर्छ भनी बताए। सभामा पश्चिम जिल्ला चेली मोर्चा संयोजिका निम फुटी भोटिया, पश्चिम जिल्ला अध्यक्ष रबिन तामाङ, वरिष्ठ उपाध्यक्ष विनोद राई, पश्चिम जिल्ला महासचिव सङ्गठन पीएन शेर्पा, उपाध्यक्ष डा. एडी सुब्बा, उपाध्यक्ष एमएन दाहाल, मुख्य प्रवक्ता एमके सुब्बा आदिले विभिन्न विषयमा आफ्ना मन्तव्य राखेका थिए।