सिलगढी: भक्तिनगर थाना पुलिसले सिलगढीमा दुईजना बङ्ग्लादेशी अनुप्रवेशकारीलाई पक्राउ गरेको छ। पक्राउपछि ति अनुप्रवेशकारीहरुलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।पक्रा परेकाहरूमा रतन मण्डल (३३) र मानिक मण्डल (३१) सामेल छन्। प्राप्त जानकारी अनुसार रतन र मानिक लगभग ६ महिना अघि बङ्ग्लादेशबाट अवैध रूपमा भारतमा प्रवेश गरेका थिए। यसपछि तिनीहरू हैदरपाडाको एउटा घरमा बस्दै आइरहेका थिए भने तिनीहरू दुईजनाले विधान मार्केटमा काम गर्ने गर्दथे। गत ६ महिनादेखि तिनीहरूले आफ्नो परिचय लुकाएका थिए। भक्तिनगर थाना पुलिसले यसबारे गोप्य सूचना पाएपछि गत राति पायल सिनेमा हल नजिकको ट्राफिक पोइन्टमा तिनीहरूलाई रोकेर भारतमा प्रवेश गरेको वैध कागजपत्र माग्दा सो देखाउन सकेनन्। यसपछि अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा पुलिसले तिनीहरूलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।