खरसाङ: जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले खरसाङ महकुमा अन्तर्गत लोवर बालासन क्षेत्रको भ्रमण गरेका छन्। उनले स्थानीयहरूको मांग अनि क्षेत्रीय सभासद नुरी शेर्पाको अनुरोधलाई स्वीकार गर्दै लोवर बालासन क्षेत्रमा फूल खेती गर्ने कृषकहरूका घरतिर भ्रमण गरेका छन्। हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीसित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको कोषाध्यक्ष सञ्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन सेवा, टुंग सन्त मेरिज समष्टिको सांगठनिक सचिव पुरण तामाङ लगायत अन्यहरू सामेल रहेका थिए। लोवर बालासन क्षेत्रका भ्रमणपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीए हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले लोवर बालासन क्षेत्रका फूल खेती गर्ने कृषकहरूका मांग र क्षेत्रीय सभासद नुरी शेर्पाको अनुरोधमा यस क्षेत्रको भ्रमण गरेको बताएका छन्। उनले यस क्षेत्रको भ्रमणमा आएको समय यहाँ धेरैले राम्रो प्रकारले फूल खेती गरिरहेको देखेको र यस क्षेत्रको फूल खेती गर्ने कृषकहरूलाई लिएर साथै यस क्षेत्रमा रहेका स्वनिर्भर दलहरूलाई लिएर फूल खेती विषयमा प्रशिक्षण शिविर साथै सचेतना कार्यक्रम गर्ने अनि यस क्षेत्रका कृषकहरूका लागि जीटीएको हर्टिकल्चर विभागबाट केही गर्ने आश्वासन दिएका छन्।