सोरेङ: राज्य सरकारको मत्स्यपालन विभागले आज अप्पर शिरिबदाममा १५ जना लगनशील कृषकहरुलाई दुई-दुई हजारवटा ट्राउट माछाको भुर्रा जिल्लापाल भीम ठटालले प्रदान गरे। माछाको भुर्रा ग्रहण गर्ने लाभार्थीहरु सोरेङ जिल्ला अन्तर्गत शिरिबदाम, सोरेङ र सिङलिङका लगनशील कृषकहरु रहेका थिए। उल्लेख्य, दुई हजार ट्राउट माछाको बच्चाको मूल्य चालिस हजार रुपियॉं पर्दछ। अप्पर शिरिबदनमा प्रधानमन्त्री मत्स्य सम्पदा आयोजना अन्तर्गत ह्याचरी भवन निर्माण गरिँदैछ। सोरेङ जिल्लाको अप्पर शिरिबदमका सत्तरी प्रतिशत नागरिकहरुले जीविकोपार्जनको निम्ति ट्राउट माछापालन गरेर राज्यमा उदाहरण पेश गरेको छ। ट्राउट रेडिङ सहकारी समिति शिरिबदमले ट्राउट माछा पालन गरेर राज्यका युवा जमातलाई ट्राउट माछा पालनप्रति अभिप्रेरित गरिरहेको छ। शिरिबदम निवासी ट्राउट रेडिङ सहकारी समितिका अध्यक्ष कल बहादुर गुरुङले ट्राउट माछा पालन गरेर वर्षमा बीस लाख रुपियॉं आय गर्दै आइरहेको अनि उनले माछा पालनमा मात्रै वार्षिक पचास लाख रुपियॉं लगानी गर्नेगरेको बताए। कृषक गुरुङलाई मत्स्य पालन विभागले पनि भरपूर सहायता गरिरहेको स्वयं गुरुङले बताए। 40 वर्षीय कृषक गुरुङ ट्राउट माछा पालनमाथि राष्ट्रिय र पूर्वोत्तर राज्यमा पुरस्कार विजेता पनि हुन्। उनले चारजना बेरोजगारहरुलाई रोजगार पनि दिएका छन्। कृषक गुरुङले यो वर्ष तीन लाख साठी हजार माछाको भुर्रा उत्पादन गरेका छन्। उनले यो वर्ष तीन लाखवटा बच्चा बेचिसकेको उनले बताए। जसको बजार मूल्य साठी लाख रुपियॉं हुन्छ।