कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा शुक्रबार जयगाउँ संलग्न तोर्षा चियाबारीको खेल मैदानमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत निःशुल्क मानव औ पशु चिकित्सा शिविर सम्पन्न भयो। सो शिविरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालको प्रमुख उपस्थिति रहेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरूमा एसएसबी पशु चिकित्सक कमान्डेन्ट डा. देवाशीष त्रिपाठी, एसएसबी कमान्डेन्ट चिकित्सक डा. मञ्जित भाटिया, उपकमान्डेन्ट सौमेन रोय, एसएसबी जयगाउँ प्रभारी हर्षित रत्ना, एनजीओ प्रतिनिधि मनोज घटानी औ एसएसबी जवान साथै गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो।
शिविरमा तोर्षा चियाबारीको छेत्री लाईन, सानो लाईन, बिबारी, बड़ा लाईन, गोपाल लाईनबाट गाउँलेहरूले स्वास्थ्य जाँच साथै आफ्नो घर पालुवा पशुहरू कुखुरा, बाख्रा, गाई, हाँस, सुङ्गुर कुकुरहरूको पनि चिकित्सा गराएर निःशुल्क औषधिको लाभ प्राप्त गर्न सफल भएको थियो। शिविरमा जम्मा ३१० जना गाउँले औ १६० वटा पशुहरूको चिकित्सा भएको र निःशुल्क औषधि वितरण गरीएको एसएसबी सुत्रले जनाएका छन्।