दक्षिण सिक्किम साहित्य सम्मेलनको २८औं स्थापना दिवस पालन

Untitled-1-copy-59

नाम्चीः नाम्चीको अफिसर्स क्लबमा आज दक्षिण सिक्किम साहित्य सम्मेलनको २८औ स्थापना दिवस भव्य रूपमा पालन गरियो। वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाले अध्यक्षता गरेको यस कार्यक्रममा साहित्यकार भीम ठटाल मुख्य अतिथि रहेका थिए।उल्लेखनीय छ, यस अवसरमा कवि-साहित्यकार सन्तोष आलेलाई शिवकुमार राई स्मृति पुरस्कार प्रदान गरियो भने साहित्यकार पेम नर्बु शेर्पालाई कवि अगमसिंह तामाङ प्रतिभा पुरस्कार प्रदान गरियो। साहित्यकार कृपानन्द सापकोटा, पूर्ण योञ्जन, अप्सरा दाहाल, लिनु खालिङ, भक्ति शर्मा, चक्रधर रूछेन्बुङ, गोबरधन वास्तोला, सरला राई र तारामणि मोक्तानलाई नेपाली साहित्य सम्मानद्वारा सम्मानित गरियो। कार्यक्रममा साहित्यकारद्वय डा. गोकुल सिन्हा र देवकी राईलाई पनि अभिनन्दन गरिएको थियो।

कार्यक्रमका अध्यक्ष गोकुल सिन्हाले दार्जेलिङले जे सोँच्छ, त्यो नेपालले भोलि सोँच्छ भन्ने कुरा उखान भइसकेको बताउँदै आज सिक्किमले जे गर्छ, त्यो दार्जेलिङले भोलि सोँछ भन्ने उल्लेख गरे। सिक्किम भरतीय नेपाली साहित्यको केन्द्र बिन्दु भइसकेको अवगत गराउँदै सिक्किमकै कारणले नेपाली भाषाले मान्यता पाएको बताए। कार्यक्रममा सम्बोधन गर्दै कवि-साहित्यकार सन्तोष आलेले लेख्नु एउटा कुरा हो, लेखिएको कुराको कति आयु छ, यस विषयमा लेख्नेहरूले ध्यान दिनु पर्छ भने। उनले भारतीय नेपाली साहित्यमा अझ पनि जातीय संस्कृति, समस्या, माटो आदि विषयमा लेख्न जरूरी रहेको विचार प्रकट गरे। उनले दक्षिण सिक्किम साहित्य सम्मेलनले गरिरहेका कार्यहरू अनुकरणीय र प्रसंशनीय रहेको उल्लेख गर्दै यस प्रकारको कार्य जो कोहीले गर्न नसक्ने बताए। यसको लागि दक्षिण सिक्किम साहित्य सम्मेलनलाई बधाई-शुभकामना पनि दिए।

कार्यक्रममा मुख्य अतिथि भीम ठटाल, साहित्यकार पेम नर्बु शेर्पा, पूर्ण योञ्जन, अप्सरा दाहल, सरला राई आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा स्थानीय कवि-कवियत्रीहरूले पनि कविता वाचन गरेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि सम्पन्न भएको थियो। कार्यक्रममा नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई, बाल अधिकार सुरक्षा बोडका अध्यक्ष रोमा तामाङ, एसकेएम पार्टीको नाम्ची जिल्ला नारी शक्ति उपाध्यक्ष प्रभारी कला सुब्बा आदिको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement